दुना टपरी उद्योगमा बढ्दो महिलाको आकर्षण

दुना टपरी उद्योगमा बढ्दो महिलाको आकर्षण

कैलाली । कैलालीको फूलबारीका सरिता बुढामगरले सानैमा सिकेको सीपलाई उद्योगमा परिवर्तन गरेर आफूमात्र उद्यमी भएकी छैन, सीप धेरैलाई बाँडेर उद्यमी बनाईन । नवलपरासीमा जन्मे–हुर्केकी सरिताले उतै छँदा सानैमा दुना टपरी बनाउन सिकेकी थिईन। विवाहपछि फूलबारी पुग्नुभएका सरिताले सुदूरपश्चिममा दुना टपरी उद्योग खासै चलनमा रहेको नदेखेपछि २०७४ मा साथीहरूसँग मिलेर उद्योग सञ्चालन गरीन। 

“केही समय तीन जना मिलेर उद्योग चलाएका थियौँ, पछि मलाई एक्लै काम गर्न मन लाग्यो, अनि २०७५ देखि एक्लै न्यू फूलबारी दुना टपरी उद्योग सञ्चालनमा ल्याएँ” सरिताले अनुभव सुनाईन, “मैले सिकेको सीप अहिले धेरैलाई सिकाएकी छु, धेरै महिला उद्यमी बनिसकेका छन् ।”

दुना टपरीको तालिम दिन घोडाघोडी नगरपालिका –१ सुखड पुग्नुभएका सरिताले महिलामा जाँगर र गर्छु भन्ने आत्मविश्वास भए सजिलै उद्यमी बन्न सकिने बताईन । वनक्षेत्र प्रशस्त भएको कैलाली कञ्चनपुरका महिलाले दुना टपरी उद्योग सजिलै सञ्चालन गर्न सकिने अनुभव सुनाउँदै उनले भारतबाट आउने प्लाष्टिकका दुना टपरी विस्थापित गर्न र वातावरणमैत्री स्थानीय उत्पादनलाई प्रयोगमा ल्याउन सबैको जिम्मेवारी रहेको बताईन। 

उहाँले पूर्व पाँचथरदेखि सुदूरपश्चिमको दार्चुला, बैतडीसम्म दुना टपरी बनाउने तालिम दिन पुग्नुभएको छ । अहिले उनले तालिम दिएका धेरै महिला उद्यमीसँगै आफूले सिकेको सीप अरूलाई समेत तालिम दिएर उद्यममा जोड्नुभएको छ । 

बिहीबार डिभिजन वन कार्यालय पहलमानपुरको सहयोग र टेग्नुवा महिला सामुदायिक वनको आयोजनामा सात दिने दुना टपरी तालिम समापन कार्यक्रममा बोल्दै प्रशिक्षक सरिताले आफूले सिकेको सीपलाई उद्यममा जोड्न आग्रह गरीन । थोरै लगानीबाट सञ्चालन गर्न सकिने उद्यम भएकाले जसले पनि गर्न सकिने उनको भनाइ छ ।

विभिन्न सामुदायिक वनमा आबद्ध महिलाले एक हप्ताको दुना टपरी तालिम लिएकी छन् । तालिममा सहभागी धेरै महिलाले समूहगत रूपमा उद्यममा जोडेर आयआर्जन गर्ने बताईन । तालिममा सहभागी राधा पाण्डेले सामुदायिक वनमा खेर गइरहेको सालका पातलाई प्रयोग गरेर दुना टपरी उत्पादन गरी विक्री वितरणबाट सजिलै आम्दानी गर्न सकिने भएकाले आफूले सिकेको सीपलाई व्यवहारमा उतार्ने बताईन । 

नजिकै घोडाघोडी मन्दिर रहेको र मन्दिरमा दुना टपरीको प्रयोग भइरहने भएकाले पनि त्यसको माग रहेको भन्दै धेरै महिला उद्यमी बन्न उत्साहित भएका छन् । टेग्नुवा महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मैना ढकालले महिला उपभोक्ता मात्र रहेको सामुदायिक वनका ४० महिलालाई तालिममा सहभागी गराई दुना टपरी उद्यममा जोडेको बताईन । 

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले प्लास्टिकको प्रयोगले वातावरण दुर्गन्धित बन्दैगएको बताउँदै घोडाघोडी सिमसार क्षेत्रलगायत बजारक्षेत्रमा प्लाष्टिको प्रयोगमा प्रतिबन्ध लगाई दुना टपरीको प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने बताए ।

तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहनुभएका घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले नगर सरकार बिस्तारै प्लाष्टिकका सामान प्रयोग विस्थापन गर्ने कार्यमा लाग्ने बताए । नगरपालिकाले समेत महिला उद्यमशीलता कार्यक्रममा जोड दिदैआएको बताउँदै महिला उद्यमीले उत्पादन गरेका दुना टपरी प्रयोगमा ल्याउन सबैले आफ्नो ठाउँबाट प्लाष्टिकजन्य सामग्री हटाई सालको पातबाट बनेका दुनाटपरी प्रयोग गर्न आव्हान गरे । 

नगर प्रमुख रावतले भने, “सालका दुना टपरी प्रयोगले हाम्रो स्वास्थ्य, वरपरको वातावरण स्वच्छ हुन्छ भने महिला दिदी बहिनीको उद्यमप्रति आकर्षण बढ्छ ।”