अलाबामामा ‘स्वीट सिक्स्टीन पार्टी’मा गोली चल्दा ४ जनाको मृत्यु, २८ जना घाइते

अलाबामामा ‘स्वीट सिक्स्टीन पार्टी’मा गोली चल्दा ४ जनाको मृत्यु, २८ जना घाइते

काठमाडौँ । अमेरिकाको अलाबामा राज्यस्थित डेडभिलमा आयोजित एक ‘बर्थडे पार्टी’मा गोली चल्दा ४ जनाको मृत्यु भएको छ। उक्त घटनामा २८ जना घाइते भएका छन्। गोली चलेपछि ‘स्वीट सिक्स्टीन पार्टी’ नरसंहारमा परिवर्तन भएको सीएनएनले उल्लेख गरेको छ।

उक्त घटना स्थानीय समयअनुसार शनिवार राति १०: ३४ बजे भएको अलाबामाका सुरक्षा निकायले जानकारी दिएका छन्।

‘यस घटनामा चार जनाको दुःखद मृत्यु भयो, र धेरैजना घाइते भएका छन्,’ सर्जेन्ट जेरेमी जे बर्केटले भने।

घटनामा घाइते भएकाहरुमध्ये केहीको अवस्था गम्भीर रहेको आइतवार दिउँसो पत्रकार सम्मेलनमा बर्केटले जानकारी दिए।

बर्केटले आफूहरू अझै प्रत्यक्षदर्शीहरूसँग कुरा गरिरहेका छन् र गोलीबारीको बारेमा जानकारी संकलन गर्ने प्रयास गरिरहेको बताए। प्रहरीले पत्रकार सम्मेलनमा संदिग्ध व्यक्ति र उसको उद्देश्यका बारेमा कुनै विवरण सार्वजनिक भने गरेन।

सर्जेन्ट बर्केटले सर्वसाधारणलाई घटनाको बारेमा कुनै पनि जानकारी पाए अलाबामा प्रहरीलाई रिपोर्ट गर्न पनि आग्रह गरे।

घटनामा मृत्यु हुनेमध्ये एक जना हाई स्कूलका फुटबल खेलाडी तथा जन्मदिन मनाइएको किशोरीका दाई रहेको फुटबल टिमका कप्तान बेन हाएस र सो रात डीजे रहेका कीनन कूपरले बताए।

कूपरले गालाबारी हुनुपूर्व आफूले कुनै पनि झगडा वा भनाभन भएको थाहा नपाएको बताए।

यसअघि आइतवार अस्पतालका अधिकारीहरूले गोली लागेर घाइते भएका कम्तिमा १५ किशोरकिशोरीलाई उपचार गरिएको र जसमध्ये धेरैको अवस्था गम्भीर रहेको बताएका थिए।

बाँकी ९ जनालाई अन्य स्वास्थ्य संस्थामा सारिएको छ। ती किशोरकिशोरीमध्ये पाँच जना गम्भीर अवस्थामा रहेको र चार जनाको अवस्था स्थिर छ।