सुडानमा ७२ घन्टे युद्धविराम

सुडानमा  ७२ घन्टे युद्धविराम

काठमाडौँ ।  सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्‍यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घन्टा युद्धविराम गर्न सहमत भएका हुन् ।सोमबार मध्यरातदेखि युद्धविराम लागू भएको छ । संघर्षरत दुवै पक्षले युद्धविराम पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले ४८ घन्टा लामो वार्तापछि सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स आरएसएफबीच सम्झौता भएको बताएका छन् । यही वैशाख २ गतेदेखि प्रारम्भ भएको द्वन्द्वमा चार सयभन्दा बढीको मृत्यु भइसकेको छ । जारी युद्धका कारण हजारौँ घाइते भएका छन् भने ठूलो संख्यामा विदेशीहरू पलायन भएका छन् । यसअघिका युद्धविरामका प्रयास असफल भएका थिए । 

राष्ट्रसंघीय निकायले चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका जनाएका छन् । युद्धमा खार्तुमस्थित इजिप्सेली दूतावासका प्रशासन सहायक एक कर्मचारीको मृत्यु भएको इजिप्टको विदेश मन्त्रालयले पुष्टि गरेको छ । उनी घरफिर्तीको प्रक्रियामा सहभागी हुन दूतावास आउँदै गरेका वेला आक्रमणमा परेका हुन् । खार्तुमका सडकमा लास यत्रतत्र छरिएका छन् । 

आरएसएफले युद्धविरामको उद्देश्य मानवीय संकट उत्पन्न हुन नदिनु तथा देशवासीलाई आवश्यक स्वास्थ्य सेवाका साथै सुरक्षित स्थानसम्मको पहुँच सुनिश्चित गर्नु भएको जनाएको छ । प्रतिद्वन्द्वी समूह एसएएफले पनि आरएसएफले युद्धविराम पालना गरेमा आफूले पनि त्यसलाई मान्ने बताएको छ । हिंसा सुरु भएदेखि युद्धग्रस्त राजधानी खार्तुमका बासिन्दालाई घरभित्रै बस्न भनिएको छ ।

उनीहरू खाना र पानीको चरम अभाव झेलिरहेका छन् । बम विस्फोटले पानी आपूर्तिका पूर्वाधार क्षतविक्षत् भएका छन् । सुडानीहरू नाइल नदीको पानी पिउन बाध्य भएका छन् । घोषित युद्धविरामले उनीहरूलाई सहरबाट सुरक्षित स्थानतर्फ जान सहज हुनेछ । विदेशी सरकारलाई पनि आआफ्ना कूटनीतिज्ञ र नागरिकको उद्धार गर्न सजिलो हुने बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुडान हिंसाले देशको सम्पूर्ण क्षेत्र र छिमेकी भूभागमा विपत्तिको आगो फैलन सक्ने चेतावनी दिएका छन् ।