आधुनिक कृषि उपकरणमा किसानको आकर्षण बढ्दै

आधुनिक कृषि उपकरणमा किसानको आकर्षण बढ्दै

बैतडी । पछिल्लो समयमा आधुनिक कृषि उपकरणहरुमा किसानहरुको आकर्षण बढ्दै गएको छ । कम मिहनेत, थोरै समयमा धेरै काम गर्न सकिने भएपछि कृषि उपकरणमा किसानहरुको आकर्षण बढ्दै गएको हो । 

पछिल्लो समयमा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले आधुनिक कृषि औजार तथा उपकरण खरीदमा अनुदान दिन थालेपछि किसानहरुको यसमा आकर्षण बढ्दै गएको छ । खेत जोत्ने मिनिटिलरका साथै धान गहुँ चुट्ने थ्रेसर मेसिनको प्रयोग बढ्दै गएको पाटन नगरपालिका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । 

खेत जोत्नका लागि ट्याक्टर तथा मिनिटिलरको प्रयोग बढ्दै गएको छ भने धान गहुँ चुट्ने मेसिनहरुको पनि प्रयोग बढ्दै गएको सुर्नया गाउँपालिका २ ग्वानीका मोहनबहादुर बिष्टले बताए । 

डिलाशैनी गाउँपालिकाले अनुदानमा थ्रेसर उपलब्ध गराएपछि स्थानीय किसान खुसी भएका छन् । उनीहरु अहिले गहुँ चुट्नका लागि थ्रेसरको प्रयोग गरिरहेका स्थानीय तेजराज जोशीले बताए । उनले भने ‘आधुनिक कृषि उपकरणले किसानहरुलाई सहज भएको छ । कृषि उपकरणले समय र मिहनेतको बचत भएको छ ।’