पर्यटन बोर्डः १ महिनामा झन्डै १ लाख पर्यटक आए

पर्यटन बोर्डः १ महिनामा झन्डै १ लाख पर्यटक आए

काठमाण्डौ । अप्रिल महिनामा झन्डै एक लाख जना पर्यटक नेपाल आएका छन् । अप्रिलमा ९८ हजार सात सय ७३ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

अघिल्लो वर्षको अप्रिलमा ६१ हजार पाँच सय र कोरोना सुरु हुनुअघि सन् २०१९ को अप्रिलमा एक लाख नौ हजार जना पर्यटक नेपाल आएका थिए । अहिले कोरोना सुरु हुनुअघिको तुलनामा ९० प्रतिशत पर्यटक नेपाल आएका र यो निकै खुसीको विषय भएको बोर्डले जनाएको छ ।

अप्रिलमा नेपाल आउनेमध्ये सबैभन्दा धेरै भारतबाट ३१ हजार चार सय जना, अमेरिकाबाट आठ हजार चार सय जना, बेलायतबाट पाँच हजार चार सय र चीनबाट चार हजार सात सय जना पर्यटक रहेका छन् । चीनबाट मार्च महिनामा २६ सय जना पर्यटक आएकोमा अहिले चीनले नेपाललाई घुम्ने सूचीमा राखेसँगै अप्रिलमा यो सङ्ख्या बढेर ४७ सय जना पुगेको हो ।

सन् २०२३ अर्थात् यो वर्षको चार महिनामा तीन लाख २६ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् । यो वर्षको जनवरीमा ५५ हजार, फेब्रुअरीमा ७३ हजार दुई सय, मार्चमा ९९ हजार चार सय र अप्रिलमा ९८ हजार सात सय जना पर्यटक नेपाल भित्रिएका हुन् ।