सोमबारदेखि लागू हुँदै एमडीएमएस प्रणाली

सोमबारदेखि लागू हुँदै एमडीएमएस प्रणाली

काठमाडौं । जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू हुने भएको छ ।

अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले २९ वैशाखमा प्रकाशित गरेको “यात्रुहरूले आफ्नो साथमा महसुल सुविधामा ल्याउन पाउने मोबाइल फोन सम्बन्धी" सूचना अनुसार मोबाइल सेटहरू दर्ता हुने गरी नेपालमा प्रयोग हुने मोबाइल सेटहरूलाई व्यवस्थित गर्न १ गते अर्थात सोमबारदेखि एमडीएमएस प्रणाली लागू हुने भएको हो । 

नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै यस विषयमा जानकारी दिएको हो । साथै व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमएडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको प्राधिकरणले जानकारी दिएको छ । 

नेपाल सरकारको निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति आफैले राहदानी वा नागरिकता प्रयोग गरेर दर्ता गर्न सक्नेछन् । 
यसको लागि प्रणालीमा डिपार्चर स्ट्याम्प र अराइभल स्ट्याम्प देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास पनि राख्नुपर्ने हुन्छ । 

नेपालभित्र मोबाइल खरिद गर्नेको हकमा भने उक्त मोबाइल सेट एमडीएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको यकिन गरी मात्र खरिद गर्न प्राधिकरणले आग्रह गरेको छ । 

साथै मोबाइल आयातकर्ता/विक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्रधिकरणमा दर्ता भएका मोबाइलमात्र बिक्री वितरण गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।टेकपाना