४० वटा बाँदर मृत फेला, विष खुवाइएको आशङ्का

४० वटा बाँदर मृत फेला, विष खुवाइएको आशङ्का

काठमाण्डौँ । भारतको उत्तर प्रदेश राज्यमा कम्तीमा ४० वटा बाँदर मृत अवस्थामा फेला परेका छन् । 

राष्ट्रिय राजधानी नयाँ दिल्लीबाट झन्डै एक सय २१ किलोमिटर पूर्वमा पर्ने हापुड जिल्लाको गढमुक्तेश्वर वन क्षेत्रमा ती मृत बाँदर फेला परेका हुन् । 

वन विभागका अधिकारीले बाँदरलाई विष खुवाएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । ‘गढमुक्तेश्वर क्षेत्रको झाडीमा ४० वटा बाँदर मृत अवस्थामा फेला परेको हामीले थाहा पायौँ । मुख्यतः बाँदरलाई विष खुवाएको हुन सक्ने आशङ्का गरिएको छ, पुष्टि हुन अझै बाँकी छ’, वन विभागका एक अधिकारीले भने ।  

प्रहरी टोली पनि घटनास्थलमा पुगेको छ र बाँदरको मृत्युको अनुसन्धानका लागि मुद्दा दर्ता गरिएको छ । ‘घटनास्थलमा छरिएर रहेका खाद्य वस्तुमा विष मिसाइएको छ कि छैन भनेर पत्ता लगाउन नमूना सङ्कलन गरिएको छ’, उनले भने । 

यसैबीच वन विभागका अधिकारीले केही शव परीक्षणका लागि बरेलीमा रहेको भारतीय पशु चिकित्सा अनुसन्धान संस्थानमा पठाएका छन् ।