ऐन विपरीत इन्टरनेटको मूल्य नबढाउन निर्देशन

ऐन विपरीत इन्टरनेटको मूल्य नबढाउन निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ऐन विपरीत इन्टरनेटको शुल्क नबढाउन निर्देशन दिएको छ । प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै इन्टरनेट सेवा प्रदायकहरूलाई मिलेमतोमा ऐन विपरीत इन्टरनेटको शुल्क नबढाउन निर्देशन दिएको हो ।

हाल विभिन्न पत्रपत्रिकाहरूमा इन्टरनेट सेवा प्रदायकहरूले आपसी मिलेमतोमा इन्टरनेट सेवाको शुल्क बढाउने गरी भद्र सहमति भैसकेको भनी समाचार प्रकाशित भइरहेका छन्,’ प्राधिकरणको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

‘इन्टरनेट सेवा प्रदायकहरूले मिलेमतोमा आफूखुसी इन्टरनेट सेवाको महशुलदर बढाउनु दूरसञ्चार ऐन, २०५३ तथा प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ विपरीत हुने ब्यहोरा सम्बन्धित  सरोकारवालाहरूलाई जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

दूरसञ्चार सेवाको शुल्क र महसुल स्वीकृत गर्ने विद्यमान कानुनी व्यवस्था बमोजिम प्राधिकरणबाट दूरसञ्चार सेवाको शुल्क स्वीकृत गर्दा स्वच्छ बजार प्रतिस्पर्धा समेतलाई मध्य नजर गरिँदै आएको प्राधिकरणले जनाएको छ ।