मिडास ई-क्लासबाट सिक्न नसके विद्यार्थीले पैसा फिर्ता पाउने

मिडास ई-क्लासबाट सिक्न नसके विद्यार्थीले पैसा फिर्ता पाउने

काठमाडौं । अनलाइन लर्निङ प्लेटफर्म मिडास ई-क्लासले विद्यार्थीलाई सिकाउन नसके पैसा फिर्ता दिने भएको छ । कम्पनीले आफ्नो प्लेटफर्ममा भएको ‘पर्सनलाइज्ड ट्युसन क्लास’मा पढेर पनि केही सिक्न नसकेका विद्यार्थीको पैसा फिर्ता गर्ने भएको हो ।

मिडास ई-क्लासले पढ्न कम इच्छा गर्ने, नबुझेको कुरा शिक्षकलाई सोध्न लजाउने र औसतभन्दा कमजोर विद्यार्थीहरूलाई लक्षित गरी पर्सनलाइज्ड ट्युसन क्लास सञ्चालन गरिरहेको छ । यस कक्षामा भर्ना गर्नुअघि विद्यार्थी कहाँ-कहाँ कमजोर छन्, सो विषयमा विद्यार्थीको सिक्नसक्ने क्षमता कति छ जस्ता कुरा कम्पनीले पहिचान गर्छ ।

त्यसपछि कम्पनीले विद्यार्थीको कमजोरी र सिक्नसक्ने क्षमताको आधारमा सो विद्यार्थीलाई मात्र केन्द्रित गरी ‘पर्सनलाइज्ड लेसन प्लान’ तयार पारेर पढाउँछ । यस क्लासअन्तर्गत दैनिक दुई घण्टाका दरले हप्तामा छ दिन अनलाइन कक्षा दिइन्छ । यदि त्यसरी पढाउँदा पनि विद्यार्थीले सिक्न सकेनन् भने पैसा फिर्ता दिने कम्पनीका सञ्चालक छत्रहरि कार्कीले बताए ।

उनका अनुसार एलकेजीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई यस्तो कक्षा दिइन्छ । यस कक्षामा सामान्यभन्दा भिन्न तरिकाले पढाइ हुने पनि उनले बताए । त्यस्तै आफूहरूले लामो समयदेखि अनलाइनमार्फत पढाइरहेका कारण यस कक्षामा सहभागी हुने विद्यार्थीले सिक्ने सम्भावना उच्च हुने जनाए । सोही कारण यसलाई एक चुनौतीको रूपमा लिँदै यस्तो योजना ल्याएको उल्लेख गरे ।

यस कक्षामा विद्यालयमा हुने सबै विषय पढाउने गरेता पनि एउटा विद्यार्थीलाई एक पटकमा दुई विषय मात्र पढाइन्छ । त्यस्तै अभिभावकहरूले आफ्ना बालबालिकाको प्रगति प्रतिवेदन साप्तिक रूपमा पाउँछन् । जसले गर्दा के भइरहेको छ भनेर अभिभावकहरूले मिडासको एपबाटै हेर्न सक्छन् ।टेकपाना