टीकापुर घटनाको आरोपमा पक्राउ परेकाहरू एक वर्षमै रिहा हुन्छन्ः ठाकुर

टीकापुर घटनाको आरोपमा पक्राउ परेकाहरू एक वर्षमै रिहा हुन्छन्ः ठाकुर

धनगढीः राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र टीकापुर घटनाको आरोपमा पक्राउ परेका थरुहट नेता लक्ष्मण थारुबिच कैलाली कारागारमा भेटवार्ता भएको छ।

टीकापुर घटना, समसामयिक राजनीति र पार्टीको आन्तरिक संरचनाबारे राजपा नेता ठाकुर र थारुबिच झण्डै आधा घण्टा छलफल भएको हो। भेटवार्ता र कारागार अनुगमनपछि ठाकुरले टीकापुर घटनाका कैदीबन्दीहरुको रिहाइको प्रक्रिया चलिरहेको बताए।

उनले टीकापुर घटनाको मुद्दा अदालती प्रक्रियामा गइसकेको भन्दै छिटै टुङगो लाग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले टिकापुर घटना राजनैतिक घटना भए पनि राज्यले अझै आपराधिक नजरले हेरेको जानकारी दिए। 

उनले टीकापुर घटनाको आरोपमा पक्राउ परेकाहरू एक वर्षमै रिहा हुने समेत दाबी गरे। जिल्ला अदालत कैलालीले टीकापुर घटनाका अभियुक्तहरूको पेशी भदौ २४ गते का लागी तय गरेको छ। 

अर्को प्रसङगमा बोल्दै अध्यक्ष ठाकुरले देशमा दुई तिहाइको सरकार भए पनि जनताको भावना अनुसार काम गर्न नसकेको बताए। उनले राष्ट्रिय जनता पार्टी राजपाले मधेस आन्दोलन र टीकापुरको घटना लाई राजनैतिक रूपमा स्वीकार गर्न सरकार लाई आग्रह गरिरहेको बताए।

राष्ट्रिय जनता पाटीले अहिले पनि संविद्यान संशोधनको मुद्दा लाई नछोडेको उनको भनाई छ।