खप्तडमा ‘प्रथम अन्तर्राष्ट्रिय आध्यामिक सम्मेलन’, योगगुरु रामदेव आउँदै

खप्तडमा ‘प्रथम अन्तर्राष्ट्रिय आध्यामिक सम्मेलन’, योगगुरु रामदेव आउँदै

धनगढी ।  सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक एवम् पर्यटकीय गन्तव्यको रुपमा परिचित खप्तडमा ‘प्रथम अन्तर्राष्ट्रिय आध्यामिक सम्मेलन’ हुने भएको छ।

बाजुरा, बझाङ, अछाम र डोटी जिल्लाको संगम स्थानको रुपमा रहेको खप्तडमा यही जेठ २३ देखि २५ गतेसम्म प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने खप्तड क्षेत्र पर्यटन बोर्डका कार्यकारी निर्देशक भीम बहादुर खड्काले जानकारी दिए।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा हुने सम्मेलन बारेमा मंगलबार आयोजकले काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो।

जैविक विविधता र प्राकृतिक सौन्दर्य र आध्यात्मिक आस्थाको धरोहरका रुपमा रहेको खप्तड क्षेत्रलाई आध्यात्मिक ध्यान केन्द्रका रुपमा विकास गर्न यो सम्मेलन आयोजना गर्न लागिएको व्यवस्थापन समितिले जनाएको छ। पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री, सभामुख, प्रमुख प्रतिपक्ष दलका नेता र सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका संघीय सासदहरुको उपस्थिति रहेको थियो।

सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने आयोजकले जनाएको छ। सम्मेलनमा पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्री र प्रदेशमन्त्रीहरुको सहभागिता रहने व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए। उनले सम्मेलनमा करिब ५ सय बढी विशिष्ट पाहुनाको उपस्थिति रहने बताए।

सम्मेलनमा योगगुरु रामदेव, जगतगुरु वालसन्त, आयुर्वेद शिरोमणि बालकृष्ण आचार्यलगायत आध्यात्मिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले जनाएको छ। सम्मेलनलाई भव्यताका रुपमा आयोजना गर्नका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा ४०१ सदस्यीय प्रथम खप्तड अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलन मूल समारोह समिति गठन भइसकेको छ। 

स्वामी खप्तड बाबाले ५० वर्षसम्म ध्यान गरेको यस क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न र सुदूरको विकासका लागि सत्तापक्ष प्रतिपक्ष नभनिकन एकै ठाउँमा उपस्थित भई धार्मिक पर्यटनको रुपमा चिनाउनका लाागि पहिलो पटक अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए।