शरणार्थी प्रकरण: बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आज

शरणार्थी प्रकरण: बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आज

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाण र सक्कली भुटानी शरणार्थीका नेता एवं अधिकारकर्मी टेकनाथ रिजालको बयान आज हुने भएको छ।

शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब तीन जनाले मात्रै बयान दिन बाँकी रहेको छ।

शरणार्थी प्रकरणका आरोपित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान बिहीबार सकिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको हो।

अब पूर्वगृहमन्त्री खाण, शरणार्थी नेता, रिजाल र बिहीबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान लिन बाँकी रहेको छ।

उनीहरुको बयान आज शुक्रबार लिइने भएको हो। नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो।

उक्त प्रकरणका आरोपितमध्ये आजसम्म १५ प्रतिवादीले बयान दिइसकेका छन्। उक्त प्रकरणका आरोपितमध्ये १७ पक्राउ परेका छन् भने १३ अझै फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।