‘खप्तडनै स्विटजरल्याण्ड हो’

‘खप्तडनै स्विटजरल्याण्ड हो’

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय स्थल खप्तडमा रहेका जडिवुटीहरुको पहिचान गरि सरकारलाई सूचिकरण गराइने भएको छ ।

पतंजली सेवा समितिले धनगढीमा आयोजना गरेको आयुर्वेद शिरोमणी धरम श्रद्धय आचार्य बालकृष्णजी महाराजको अभिनन्दन समारोहमा खप्तडमा जडिबुटीको भण्डारण क्षेत्र भएपनि पहिचान हुन नसकेका कारण त्यसको अध्ययन गरि सरकारसंग सूचिकरण गराइने भएको हो ।

आचार्य बालकृष्णजीले भने –‘प्रथम खप्तड अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलनका लागि पतंजलीका विज्ञ टोलीहरु खप्तड पुगिसकेका छन् । यो लामो अवधिमा जडिबुटीको खोज, अध्ययन गरि पहिचान हुन नसकेका जडिबुटीहरुको सूचि तयार गरि सरकारलाई सूचिकरणका लागि सिफारिस गराइने छ ।’

उनले जडिबुटीका नाम सार्वजनिक गर्दा मानिसहरु मनोमानी ढंगले त्यस क्षेत्रमा उत्खन्न गर्न जान सक्ने चुनौति रहेको बताउँदै –‘पहिलो कुरा जडिबुटीको संरक्षण महत्व हो । त्यसपछि सम्बर्दनसंगै आवश्यकता अनुसार उत्खन्न हुनुपर्छ ।’ उनले खप्तडको जडिबुटीबाटै राष्ट्रलाई समृद्ध गर्न सकिने बताए ।

उनले खप्तडको जडिबुटीको संरक्षण संगै पर्यटकीय स्थलको प्रचार–प्रसार आवश्यक रहेको बताए । उनले भने –‘हामी स्विटजरल्याण्डका कुरा गर्छौ । यति ठुलो उचाइमा रहेको खप्तड आफैमा स्विटजरल्याण्ड हो । त्यसैले यसको प्रवद्र्धन गर्न हामी सबै लाग्नुपर्छ ।’

उनले सुदूरपश्चिम देवभुमी रहेकाले भारतका विभिन्न स्थानका मानिसले एक चोटी यहाँका सुन्दर भुमीमा पुगाउन आफनो तर्फबाट हरप्रयास गर्ने बताए । उनले भने –‘धनगढीदेखि कैलासमानसरोवरको बाटो सबैभन्दा छोटो छ । भारतका मानिस अहिले तातोपानीबाट कैलास मानसरोवर पुग्छन । अब म आफै यहाँबाट मानसरोवर पुग्छु । म मात्र किन मसंगै सयौं श्रद्धालु आउँछन् ।’