वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौँ । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने मूल नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाउने प्रचलन सुरू भएको हो । सो दिवस मनाउन थालेको ५०औँ वर्ष लागेको छ ।

यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा प्लास्टिकजन्य पदार्थको व्यवस्थापनलगायत समष्टिगत वातावरणीय समस्यासँग जुँध्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गर्दै आएका विभिन्न प्रयत्न र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्न यस दिवसले सम्बद्ध सबैलाई झक्झकाउन सहयोग पुग्ने बताएका छन् ।

यसवर्ष वैश्विक जगतको सबैभन्दा महत्वपूर्ण वातावरणीय चुनौतीमध्येको एक प्लास्टिक प्रदूषणलाई  प्रमुखताका साथ उजागर गर्ने गरी दिवस मनाउन लागिएको उल्लेख  गर्दै प्रधानमन्त्री दाहालले प्लास्टिक हाम्रो आधुनिक जीवनको अभिन्न अङ्ग बनिसकेकाले त्यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
प्लास्टिकको अत्यधिक र अव्यवस्थित प्रयोगले ठूलो वातावरणीय समस्या सिर्जना गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले महासागर, ल्यान्डफिल साइट, समथर भूमि, पहाडी, उच्च पहाडी र हिमाली क्षेत्र जताततै प्लास्टिकको फोहरले भरिएको र मानव स्वास्थ्य र समग्र पारिस्थितिक प्रणालीलाई अपरिवर्तनीय क्षति पुर्याउने खतरा बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गरे ।