एसएसपीको महिला हवल्दारसँग प्रस्ताव - तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं

एसएसपीको महिला हवल्दारसँग प्रस्ताव - तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं

धनगढी । पटकपटक विवादमा आइरहने नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि यो पटक गम्भीर आरोप लागेको छ। आफ्नै महिला सहायक हवल्दारलाई यौन हिंसा गरेको आरोप पालमाथि लागेपछि अहिले छानबिन प्रक्रिया अघि बढाइएको छ। 

सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेपछि घटनाबारे आन्तरिक छानबिन सुरु गरिएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको हो। 

पालमाथि थप बुझ्न भन्दै प्रहरी हेडक्वाटरमा समेत बोलाइएको छ। उनी अहिले प्रहरी हेडक्वाटरमा छन्। तर यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायत भने आफू जानकार नभएको दाबी गर्छन्। 

‘उहाँसँग केही बुझ्नुपर्ने भएकाले हेडक्वाटरमा बोलाइएको हो,’ प्रवक्ता कडायतले भने, ‘महिला प्रहरीलाई यौन हिंसा गरेको भन्ने विषय जानकारी भएन। त्योबारे प्रदेशलाई जानकारी होला।’

स्रोतका अनुसार घटना गत शुक्रबारको हो। ती महिला हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन्। बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो। 

त्यसपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनु भन्दै आदेश दिएका थिए। त्यसपछि ती महिला एसएसपी बसेको क्वाटरमा पुगेकी थिइन्। क्वाटरमा एसएसपीले महिला हवल्दारलाई भने, ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं।’

एसएसपीले यस्तो प्रस्ताव गरेपछि चकित बनेकी ती महिलाले प्रतिवाद गर्दै घटनाबारे ड्युटी अफिसरलाई जानकारी गराएकी थिइन्। पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि घटना छानबिन हुने अवस्थामा आइपुगेको छ।

आश्चर्यको कुरा त एसएसपीमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले उनीभन्दा तल्लो दर्जाका एसपीको नेतृत्वमा समिति बनाएको छ। एसपीको नेतृत्वमा समिति बनाएर घटनालाई सामसुम पार्न खोजिएको आशंका पीडित महिला हवल्दारले गरेकी छिन्। 

यस विषयमा एसएसपी पालसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भएन। 

प्रहरीमा फेल, राअविमा भर्ती, फेरि प्रहरीमै छिरेर संगठनकै बद्नामी 

अहिले आरोप लागेका पाल सुरुमा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना हुन फाराम भरेका थिए। तर उनी परीक्षामा उत्तीर्ण गर्न सकेनन्। त्यस बेलाको कार्यकर्ता भर्तीकेन्द्र बनेको राष्ट्रिय अनुसन्धान विभाग (राअवि)मा पहुँचको आधारमा उनी इन्स्पेक्टर बनेका थिए। 

चलखेलबाट नेपाल प्रहरीको इन्स्पेक्टर बन्न सफल भए पनि उनी विवादबाट जोगिन सकेनन्।  महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत रहँदा उनी कारबाहीमै परे। 

यसबाहेक सोलुखुम्बुको इन्चार्ज भएको बेलामा त पालमाथि गम्भीर आरोप नै लागेको थियो। यौन दुव्यर्वहारसम्बन्धी आरोप लागेपछि उनको जिम्मेवारीसमेत खोसिएको थियो। अहिले फेरि उनीमाथि गम्भीर आरोप लागेको छ।