विश्व वातावरण दिवसको अवसरमा दार्चुलामा अन्तरक्रिया

विश्व वातावरण दिवसको अवसरमा दार्चुलामा अन्तरक्रिया

धनगढी । विश्व वातावरण दिवस २०८० को अवसरमा अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जिल्ला स्थित संचारकर्मीहरु सँग अन्तरक्रिया कार्यक्रम गरेको छ । प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ भन्ने मुलनाराका साथ विश्व वातावरण दिवस २०८० मनाईएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका कार्यालय प्रमुख नुरेन्द्र अर्यालले नेपालमा रहेका संरक्षित क्षेत्रको इतिहास र दार्चुला जिल्लामा रहेको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयको वारेमा संचारकर्मीहरुलाई जानकारी गराएका थिए । 

२०६७ अषाढ २८ गते स्थापना गरिएको अपीनाम्पा संरक्षण क्षेत्रको क्षेत्रफल १९०३ वर्ग किलोमिटर रहेको छ भने जिल्लाको अपिहिमाल, मार्मा, ब्यास, दुहु र नौगाडका आंशिक भुभाग र महाकाली नगरपालिकाको १,२ पुरै वडा र ३ नम्बर वडाको आंशिक भाग संरक्षण क्षेत्रमा रहेको जानकारी गराए ।

संरक्षण क्षेत्र भित्र ४० संरक्षण सामुदायिक वन उपभोक्ता समूह रहेको कार्यालय प्रमुख अर्यालले वताए । संरक्षण क्षेत्र भित्र पवित्र कैलास भू—परिधिको महत्वपूर्ण भाग, व्यासी सौका समुदायको संस्कृति र रमणीय हिमाली भू—शृंखलाका विशेषताहरु रहेका छन् ।

नेपाल सरकारबाट स्वीकृत स्थायी दरबन्दी ६७ जनाको रहेको भएपनि हाल कार्यरत कर्मचारीे संख्या ४३ जना रहेको र कार्यालयको हेडक्वाटर जिल्ला सदरमुकाम खलंगामा रहेको छ । सेक्टर कार्यालय राप्ला र खण्डेश्वरी, रेन्जपोष्ट ब्याँस, खार र विटुले, पोष्ट दुम्लिंग, सुनसेरा, सिप्टी, गुल्जर र घुसामा रहेको जानकारी गराए । संरक्षण क्षेत्र भित्र ५०० भन्दा बढी प्रजातिका वनस्पतिहरू, वन्यजन्तुमा स्तनधारी अन्तर्गतः हिउँ चितुवा, कस्तुरी मृग, नाउर, ब्वाँसो लगायतका ४३ प्रजातिका रहेका छन । २६३ प्रजातिका चराहरु, ६९ प्रजातिका माछा र यार्सागुम्बा, वन लसुन, सतुवा, जटामसी, कुट्की लगायतका ७५ भन्दा बढी प्रजातिहरूका जडीवुटी संरक्षण क्षेत्र भित्र रहेका संचारकर्मीहरुलाई जानकारी गराउनु भएको थियो ।संचारकर्मीहरुले लामो समय परिषद् विहिन रहेको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयको परिषद् गठन, यार्सागुम्वा संकलन समयाअवधि, संकलन पुर्जी लगायतका महत्वपुर्ण बिषयवस्तुहरु उठाएका थिए । संरक्षण क्षेत्र भित्र प्लाष्टिकजन्य प्रदुषण निर्मुल पार्न पोष्टहरुमा जनचेतनामुलक कार्यक्रमहरु गर्न सुझाव दिएका थिए ।

स्वस्थ र स्वच्छ वातावरणमा बाच्च पाउने हकको सुनिश्चताको लागि वातावरण संरक्षण सवैले आ आफ्नो ठाउँवाट गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।