खप्तडमा आध्यात्मिक सम्मेलन आजबाट सुरु,, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

खप्तडमा आध्यात्मिक सम्मेलन आजबाट सुरु,, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

धनगढी । भूस्वर्ग मानिने  सुदूरपश्चिम प्रदेशको चर्चित धार्मिक, आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा तीनदिने आध्यात्मिक सम्मेलनको हुँदै छ । आज मङ्गलबार बिहानबाट सुरु हुने सो सम्मेलनको उद्घाटन  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।

सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्वप्रधानमन्त्री, लोकप्रिय योगगुरु बाबा रामदेव र पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णलगायतको उपस्थिति हुने बताइएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा हुने यस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रको समग्र विकास र भावी योजना तथा रणनीतिका बारेमा विशेष सम्बोधन गर्ने जानकारी आयोजकले दिएको हो ।

सम्मेलनका लागि मूल आयोजक समितिका संयोजक एवं प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको मन्त्रीको टोली खप्तड क्षेत्रमा पुगिसकेको छ ।

आयोजक समितिका सहसंयोजक एवं प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले सम्मलेनको तयारी लगभग पूरा भएको जानकारी दिए । उनले भने, “सम्मेलनमा सहभागी हुन आउनेहरूका लागि बसोबासको थोरै समस्या देखिएकाले त्यसको व्यवस्थापनमै जुटेका छौँ ।”

सम्मेलनको तयारीका लागि प्रदेशका मुख्यमन्त्री शाहको संयोजकत्वमा चार सय एक सदस्यीय सम्मेलन मूल तयारी समिति र अन्तर्गत विभिन्न १२ उपसमिति गठन गरिएको छ ।

प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा पहिलो पटक यस्तो  सम्मेलन हुन लागेको हो । समुद्री सतहबाट झन्डै तीन हजार दुई सय मिटरको उचाइमा रहेको खप्तड क्षेत्र प्रकृति, पर्या पर्यटन, आध्यात्मिक लगायतका दृष्टिले महत्त्वपूर्ण रहेको छ ।