फेसबुक पेजमा सस्तोमा घर-जग्गा र ऋण मिलाइदिन्छु भन्दै १ करोड बढी रकम ठगी

फेसबुक पेजमा सस्तोमा घर-जग्गा र ऋण मिलाइदिन्छु भन्दै १ करोड बढी रकम ठगी

काठमाडौं । घर-जग्गा र सस्ताेमा ऋण मिलाइदिने बहानामा एक कराेड बढी रकम ठगी भएकाे पाइएकाे छ । प्रहरीले यस्ताे कार्यमा संलग्न सिन्धुपाल्चोकका २७ वर्षीय रामचन्द्र चालिसेलाई पक्राउ गरेकाे छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालिसेले फागुन ४ गते फेसबुकमा 'घर जग्गा लोन सेवा' नामको पेज खोलेका थिए ।

टेकपानासँग कुरा गर्दै परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले भने, “फेसबुक पेज खोलेपछि उसले केही व्यक्तिहरूसँग मिलेर बिजनेस गर्ने भन्दै नागरिकता प्रमाणपत्र सङ्कलन गरेको रहेछ । पछि ती व्यक्तिहरूकाे नागरिकताको दुरुपयोग गरी विभिन्न पाँच बैंकमा खाता खोलेको देखिन्छ ।''

यता फेसबुक पेजमा रामचन्द्र चालिसे घर-जग्गा खरिदका लागि ऋण, शैक्षिक ऋण उपलब्ध गराइदिने विज्ञापन राख्थे । ती विज्ञापन देखेर उनको पेजमा केहीले ऋण उपलब्ध गराइदिन र केहीले घर-जग्गा खोजिदिन भन्दै मेसेज पठाउँथे ।

पेजमा आएका मेसेज रिप्लाई दिँदै उनी राम्राे घर, जग्गा खाेजिदिने, साथै सस्ताे ब्याजमा ऋण मिलाइदिने आश्वासन दिन्थे ।

“आएका मेसेजलाई रिप्लाई दिँदै उसले मानिसहरूलाई महँगा क्याफे र रेस्टुरेन्टमा भेट्न बोलाउने रहेछ,” एसपी रिजालले भने ।

भेट्न आएका मानिसलाई चालिसे फरक नामले चिनाउँथे । एसपी रिजालका अनुसार चालिसेले आफूलाई ऋण माग्न आएका व्यक्तिसामु 'नकुल चालिसे', 'आकाश भट्टराई' वा 'आर.एन क्षेत्री' काे नामबाट चिनाउँथे । यी तीनै नाम हुन्, जसको चेक चालिसेसँग थियो ।

“आर्थिक मन्दी भइरहेकाले बैंकले सहजै ऋण नदिने अवस्था छ,” एसपी रिजालले भने, “उसले यसैको फाइदा उठाउँदै सस्तो ब्याजदरमा मोटो रकम ऋण दिने प्रलोभन देखाएको रहेछ ।”

चालिसे घरजग्गा र ऋण दिनका लागि पहिले विभिन्न शीर्षकमा सेवाशुल्क वापतको रकम माग गर्थे । पीडितले विश्वास नगर्दा उनी आफूसँग भएका विभिन्न बैंकका चेक दुई वर्षपछिको मिति राखेर दिन्थे ।

“उसले बैंकसँग सहकार्य गरेर केही दिनमा ऋण उपलब्ध गराउने भन्दै विश्वस्त बनाउँथ्यो । उसको व्यवहार, बोलीचाली देखेर ऋण माग्न आएकाहरू पनि विश्वस्त हुन्थे,” एसपी रिजालले अगाडि भने । 

त्यसपछि चालिसेले माग गरे बमोजिम उनले भनेकै मिति राखेर ऋण माग्न आएका व्यक्तिहरू चेक दिन्थे । र, चालिसेबाट दुई वर्षपछिको मिति राखिएको चेक लिएर ती मानिसहरू आफ्नो बाटो लाग्थे ।

पछि ऋण पाउने भनेको समयमा चालिसे विभिन्न बहाना बनाएर उनीहरूबाट टाढिन खोज्थे । एसपी रिजालले थपे, “धेरै पटक उनीहरूबाट टाढिन खोजेपछि पीडितले आफू ठगिएको थाहा पाए ।” 

ठगिएको महसुस भएपछि एक पीडितले सामाजिक सञ्जालमा ग्रुप बनाएर चालिसेको फोटो राखी को-को ठगिएको छ भन्दै पोस्ट गरे । त्यसपछि चालिसेबाट ठगिएका विभिन्न व्यक्तिहरू ग्रुपमा जोडिए । अनि, संयुक्त रूपमा उजुरी दिन जिल्ला प्रहरी परिसर पुगे ।

चालिसेले यसरी पाँच जनाबाट कूल ५७ लाख २० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ । चालिसे पक्राउ परिसकेपछि अर्का एक पीडितकाे आफन्त पनि प्रहरीको सम्पर्कमा आए ।

एसपी रिजालका अनुदार जापानमा बस्ने ती पीडितले फेसबुक पेजमा चालिसेसँग जोडिएर घर खोजिदिन अनुरोध गरेका थिए । पछि चालिसेले ती पीडितलाई नेपाल बोलाए ।

पीडित पनि नेपाल आए र चालिसेले देखाएको घर हेरे । घर चित्त बुझेपछि उनले ५० लाख रुपैयाँको चेक काटी बैना दिएको रिजालको भनाइ छ । र, यसपछि उनी पुनः जापान लागे ।

यता प्रहरीले सूचना राखेपछि ती पीडितले आफन्तलाई उजुरी दिन परिसर पठाए । 

प्रहरीले चालिसेबाट ठगिने अन्य व्यक्तिलाई एक सूचना जारी गर्दै सम्पर्कमा आउन अनुरोध गरेको छ । उक्त सूचना देखेपछि थप पीडितहरू सम्पर्कमा आउने क्रममा रहेकाे रिजालले सुनाए । 

आरोपित चालिसेमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको एसपी रिजालले बताएका छन् ।