आज कस्तो रहनेछ देशभरको मौसम ?

आज कस्तो रहनेछ देशभरको मौसम ?

धनगढी । नेपालमा हाल पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै मधेशलगायत देशका बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । 

विगत केही दिनयता गर्मी अत्यधिक बढेको थियो भने तराईमा तातो हावा लु चलेको थियो । तर आइतबारयता भने तापक्रम घट्न थालेको छ । अहिले देखिएको मौसम बदली केही दिन टिक्न सक्ने मौसमविद् सुमनकुमार रेग्मीले बताए ।