बजेट अभावले ओझेलमा दार्चुला–टिंकर सडक

बजेट अभावले ओझेलमा दार्चुला–टिंकर सडक

दार्चुला । दार्चुलाको लाइफलाइनको रूपमा हेरिएको महाकाली कोरिडोर अन्तर्गत निर्माणाधीन दार्चुला–टिंकर सडक बजेट अभावका कारण ओझेलमा परेको छ । दार्चुलाको विकासका लागि पहिलो प्राथमिकताको योजना भए पनि बजेट अभावका कारण योजना समस्यामा परेको हो । 

सरकारले पर्याप्त बजेट नदिँदा आर्थिक, व्यापारिक, धार्मिक र पर्यटकीय महत्त्व बोकेको टिंकर सडकले गति लिन सकेको छैन । भारतले अतिक्रमण गरेको नेपाली भूभाग कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्र नजिकका छाङरु र टिंकर गाउँ भएर चीनको सीमासम्म जोडने दार्चुला–टिंकर सडक निर्माण कार्य गत पुस देखि सुस्त छ । 

नेपाली सेनाले निर्माण गरिरहेको टिंकर सडकले बजेट अभावमा गति लिन नसकेको स्थानीयको बुझाइ छ । बजेट बर्सेनि घटेर आउनेगरेको र बजेटको आधारमा लक्ष्य निर्धारण हुनेगरेको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। चालु आर्थिक वर्षमा दुई किलोमिटरमा ट्रयाक खोल्ने र डेढ किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य रहेकोमा लक्ष्य करिब पूरा भइसकेको उनले बताए । 

कडा चट्टानी भिर काटेर सडक निर्माण गर्नुपर्ने भएकाले थोरै सडकमा धेरै लगानी गर्नुपर्ने अवस्था छ । चालु आर्थिक वर्ष २०७९–८० मा टिंकर सडक निर्माणका लागि सरकारले साढे ९ करोड बजेट सेनालाई उपलब्ध गराएकोमा हिउँदमै सकिएको बताइएको छ । नेपाली सेनाले टिंकर सडक निर्माणका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपियाँ सरकारसँग माग गरेकोमा साढे ९ करोड मात्रै पाएको थियो । 

सरकारबाट पर्याप्त बजेट उपलब्ध नभएपछि गत पुस २६ गतेदेखि सडक निर्माणमा संलग्न दुई सयभन्दा बढी कामदार घर फर्किएका थिए । व्यास गाउँपालिका –३ तुषारपानी र वडा २ दुम्लिङको चट्टानी भागमा सडक निर्माणको काम भइरहेको छ । अघिल्लो वर्ष २०७७–७८ मा डीपीआर संशोधन, क्याम्प स्थापनालगायतका प्राविधिक कार्य गरिएकोमा गत वर्ष २०७८–७९ देखि सडक निर्माण सुरु गरिएको नेपाली सेनाका सूचना अधिकारी भण्डारीले बताए । 

गतवर्ष २० करोड बजेटमा तुषारपानीदेखि दुम्लिङसम्मको ८ किलोमिटर लामो सडक निर्माण गरिएको थियो । यो वर्षको सुरुमै न्यून बजेट दिइयो, विनियोजित बजेट सकिएपछि थप बजेटको माग गरिए पनि सम्बोधन नभएको सैन्य अधिकृतहरूले बताएका छन् । यद्यपि सूचना अधिकारी भण्डारीले भने सरकारले दिएको बजेटको आधारमा लक्ष्य निर्धारण गरेर सेनाले काम गरिरहेको बताए । 

बढी बजेट प्राप्त भएमा काम पनि बढी गर्न सकिने उनको भनाइ छ । सेनाले निर्माण गरिरहेको टिंकर सडक निर्माण कार्य पूर्ण रूपमा बन्द भएको गलत सन्देश फैलिने भन्दै सेनाले सुस्त गतिमा काम गरिरहेको जानकारहरूको भनाइ छ । आगामी आर्थिक वर्षको यकिन बजेट प्राप्त हुन बाँकी भए पनि महाकाली कोरिडोरमा बजेट घटेकाले टिंकर सडकमा समेत बजेट घट्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरिरहेका छन् । 

अहिलेकै गतिमा सडक निर्माण हुने हो भने टिंकरसम्म सडक विस्तार गर्न ३० वर्षभन्दा बढी लाग्ने भएकाले बजेट र लक्ष्य बढाउनु आवश्यक रहेको व्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले बताए । सङ्घीय सरकारसँग टिंकर सडकमा बजेट थप्न पटक पटक माग गर्दा समेत सुनुवाइ नभएको उनको गुनासो छ । 

महाकाली कोरिडोरमा पनि बजेट अभाव

कञ्चनपुरको ब्रह्मदेबबाट डडेल्धुरा, बैतडीको झुलाघाट हुँदै दार्चुलाको टिंकर जोड्ने महाकाली कोरिडोर सडक आयोजनामा बजेट अभाव देखिएको छ । महाकाली कोरिडोर अन्तर्गत ब्रह्मदेबदेखि दार्चुलाको सुन्सेरासम्म ३३४ किलोमिटर सडक आयोजनामार्फत र सुन्सेरादेखि टिंकरसम्मको बाँकी ७९ किलोमिटर नेपाली सेनाले निर्माण गरिरहेको छ ।

महाकाली कोरिडोरमा बर्सेनि बजेट घट्दैगएको छ । महाकाली कोरिडोरमा आर्थिक वर्ष २०७८–७९ मा एक अर्ब तीन करोड बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्ष २०७९–८० मा ५१ करोड मात्रै बजेट विनियोजन गरिएको थियो । अगामी आर्थिक वर्ष २०८०–८१ का लागि अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेटमा समेत महाकाली कोरिडोरका लागि ४५ करोड मात्रै विनियोजन गरिएको छ । 

बजेट अभाव र सडक क्षेत्रमा पर्ने रुख कटानको आदेश समयमै नआउँदा महाकाली कोरिडोर निर्माणमा ढिलाइ भइरहेको महाकाली कोरिडोर आयोजना कार्यालय प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिनुभयो । कोरिडोर अन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर सडक पर्छ ।