चेतन ऐडीको हत्या आरोपमा धनगढीबाट थप एकजना पक्राउ

चेतन ऐडीको हत्या आरोपमा धनगढीबाट थप एकजना पक्राउ

धनगढी । बाजुराका नेता चेतन ऐडीको हत्या गरेको आरोपमा फरार रहेका एक युवा पक्राउ परेका छन् । बिहीबार धनगढीको बसपार्कबाट कैलाली प्रहरीको मोबाईल टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीको उच्च स्रोतका अनुसार पक्राउ पर्नेमा रनसिंह ऐडी रहेका छन् । उनलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा पक्राउ गर्न बाजुरा प्रहरीले पत्राचार गरेको थियो । सोहीअनुसार कैलाली प्रहरीसहित अनेरास्ववियु कैलाली र राष्ट्रिय युवा संघ नेपालको सहयोगमा उनलाई समातिएको बताइएको छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाजुरामा चेतनको विभत्स हत्या भएको थियो । चेतन अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्षसमेत थिए ।

घटनापछि फरार रहेका रनसिंह लामो समयदेखि धनगढीमा लुकेर बसेको खुलेको छ । उनी घटना घटाउने मुख्य पात्र भएको प्रहरीको दाबी छ ।

मंसिर ४ गते जिल्लाको त्रिवेणी नगरपालिका ७ मा कुटपिटबाट ३२ वर्षीय ऐडीको हत्या गरिएको थियो । घटनामा विभत्स हत्या गर्ने २२ जनाविरुद्ध अहिले मुद्दा रहेको छ । उनीहरुमध्ये केही फरार रहेका छन् ।