जापान लैजाने भन्दै रकम ठगी गर्ने युवा कारागार चलान

जापान लैजाने भन्दै रकम ठगी गर्ने युवा कारागार चलान

धनगढी। जापान लैजाने भन्दै छरछिमेकी र आफन्तसँग ठूलो रकम ठगी गरेको आरोपमा पक्राउ परेका युवालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

न्यायाधीश दिनबन्धु बरालको इजलासले मोरङको सुनवर्षी नगरपालिका–६ का ३५ वर्षीय अजयकुमार राजवंशीलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको हो।

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार इजलासको आदेशपछि राजवंशीलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ। ‘तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी निज प्रतिवादीलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्नु,’ जेठ ३१ गतेको आदेशमा भनिएको छ।

राजवंशीले राम्रो कमाई हुने प्रलोभन देखाउँदै वैदेशिक रोजगारीका लागि जापान लैजाने भनेर ३५ जनासँग २ करोड ५८ लाख ७५ हजार २ सय ५२ रूपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले राजवंशी समुदायकै युवाहरूलाई ठगी गरेको पाइएको छ।

राजवंशीबाट छरछिमेकी, आफन्त र नातागोताका युवाहरू ठगिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

राजवंशी वैदेशिक रोजगारीको सिलसिलामा ४ वर्षदेखि जापानमा बस्दै आएका थिए। आफू जापानमै रहेपछि अरूलाई पनि लैजाने भनेर प्रलोभनमा पार्दै धेरै जनासँग ठूलो रकम ठगी गरेको पत्ता लागेको डीएसपी दाहालले बताए।

पीडित युवाहरूले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई जेठ ५ गते पक्राउ गरेको थियो। प्रहरीले उनीविरुद्ध ठगी मुद्दामा अनुसन्धान एवं कारबाही अघि बढाएको थियो।