निर्मला हत्याकाण्डः एक महिनादेखि अशान्त महेन्द्रनगर, दिनहुँ प्रदर्शन र विरोध

निर्मला हत्याकाण्डः एक महिनादेखि अशान्त महेन्द्रनगर, दिनहुँ प्रदर्शन र विरोध

धनगढीः साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मला अर्को दिन कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर १८ र २ को सिमानामा पर्ने निम्बुखेडा खोलामा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेपछि महेन्द्रनगर अशान्त छ । 

करिब एक महिनादेखि दिनहुँ महिला अधिकारकर्मी, सर्वसाधारणले विरोध र प्रदर्शन गर्दै आइईरहेका छन् । 

सुरुमा निर्मलाको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै महेन्द्रनगरमा प्रदर्शन हुन्थ्यो । 

घटनाको २६ औ दिनसम्म पनि अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै आन्दोलन झन् झन् उग्र बन्दै गइरहेका बेला २६ औ दिनमा प्रहरीले निर्मलाको बलात्कार गरी हत्या गरिएको अभियोगमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दिलीप सिंह विष्टलाई पक्राउ गरी सोमबार सार्वजनिक गर्‍यो । 

विष्टलाई पक्राउ गरेको भोलिपल्ट आन्दोलनले झन् आक्रमक रूप लियो । आन्दोलनलाई शान्त प्रहरीले करिब तिन दर्जन अश्रुग्यास प्रहार गर्नुप¥यो भने दुई जना प्रहरी नै घाइते हुन पुगे । 

कारण हो, प्रहरीले अपराधी जोगाउन नक्कली अपराधी बनाउनु । 
स्थानीयले बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधी जोगाउन मानसिक अवस्था ठिक नभएको व्यक्ति पक्राउ गरेको आरोप लगाई प्रदर्शन गरिरहेका हुन । 

प्रहरीले मानसिक सन्तुलन ठिक नभएका विष्टलाई सार्वजनिक गरे पनि निर्मलाको बलात्कार र हत्या कहाँ र कसरी भयो भन्नेबारे अझै प्रष्ट खुलाउन सकेको छैन । प्रहरीले भने म्याद थप गरेर अनुसन्धान प्रक्रिया जारी रहेको जनाएको छ । 

वास्तविक अपराधीलाई जोगाउन मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई पक्राउ गरेको आरोप लगाएका स्थानीयले विष्टका नाममा किटानी जाहेरी दिन प्रहरीले बालिकाका परिवारलाई समेत दबाब दिएको बताएका छन् । तर बालिकाका परिवारले भने किटानी जाहेरी दिएका छैनन् । 

सोमवार निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगमा विष्टलाई पक्राउ गरेपछि मगलवारदेखि सुरु भएको आन्दोलन बुधवार पनि जारी छ । 

मगलवार आन्दोलनका क्रममा प्रहरीले तिन दर्जन अश्रुग्यास प्रहार गर्नु परेको थियो भने दुई जना प्रहरी जवान घाइते भएका थिए । दोस्रो दिन बुधवार बिहानैदेखि महेन्द्रनगरम फेरि प्रदर्शन र विरोध सुरु भएको छ । 

मगलवार बजार, शिक्षण संस्था र यातायात बन्द गरेर स्वःस्फूत रूपमा आन्दोलनमा सहभागी स्थानीयहरू बुधवार पनि महेन्द्रनगरमा प्रदर्शन गरिरहेका छन् । 

उनीहरूले बुधवार बिहानैदेखि महेन्द्रनगरमा स्वःस्फूर्त रूपमा उत्रिएका व्यापारी र सर्वसाधारणले दोषीलाई उन्मुक्ति दिई निर्दोषलाई फसाउन नहुने भन्दै विरोध गरिरहेका छन् । 

उनीहरूले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा हुनुपर्ने माग गर्दै आएका छन् भने घटनाको सत्य तथ्य सार्वजनिक नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।