गर्मी बढ्दै गएपछि कैलालीका सिमसार क्षेत्रका प्राकृतिक ताल सुक्न थाले

गर्मी बढ्दै गएपछि कैलालीका सिमसार क्षेत्रका प्राकृतिक ताल सुक्न थाले

धनगढी । गर्मी बढ्दै गएपछि कैलालीका विभिन्न सिमसार क्षेत्रमा रहेका प्राकृतिक ताल सुक्न थालेका छन् । गर्मीका कारण तापक्रम बढ्दै जाने र लामो समय वर्षा नहुने भएपछि यसको असर प्राकृतिक तालमा समेत देखिन थालेको छ । विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडीलगायत धेरै प्राकृतिक तालमा वर्षभरि पानी रहन्थ्यो । त्यस्ता पोखरीमा माछापालन सुरु गर्न थालेपछि गर्मी मौसममा ताल सुक्ने गरेको बताइन्छ ।

घोडाघोडी सिमसार क्षेत्रमा घोडाघोडी, नकरोड, बैसहुवा, बुढिया नकरोड, रामफल, बिचका चटिया, सोनपोखरी, खेरहुवा, सेमरहुवा, चन्दरबिजुवा, बुकुवा, चटिया, पूर्वी ओजहुवा, ओजहुवा, टेग्नहुवा, टेडी, पर्सिहिनिया, टिनचटिया, पुरैना, बन्द्रहुवा, पल्पलिया, भुन्फहिया, देउकलिया र रमटलिया गरेर २४ वटा प्राकृतिक ताल रहेका छन् । तीमध्ये अहिले वर्षैभरि प्राकृतिक रूपमा पानी जम्ने केही ताल मात्र छन् । गत वर्षसम्म पानी जम्ने घोडाघोडी तालसँगै जोडिएको पश्चिमपट्टि रहेको तेडी पर्सेनीय तालमा हिजोआज कमिला हिँडेको देखिन्छ । २.७५ हेक्टर क्षेत्रफलमा फैलिएको सो तालमा केही वर्षदेखि माछापालन गर्न थालिएको थियो ।

बोरिङको पानीले तालमा पानी सञ्चित गरेर माछापालन गरिँदै आए पनि यो वर्ष बोरिङसमेत सुकेपछि अहिले सो ताल चौरमा परिणत भएको छ । घोडाघोडीमा यस्तै अवस्थामा अन्य पाँच वटा ताल रहेका छन् । ओझुवा, पूवी ओझुवा र टग्नुवा तालसमेत सुक्ने अवस्थामा पुगेका छन् । ती तालमा समेत बाहिरबाट पानी सञ्चित गरेर माछापालन तथा डुङ्गा सयर गराउने गरिएको छ । 

टेग्नुवा महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मैना ढकालले टेग्नुवा ताल वर्षैभरि पानी भइरहने ताल भए पनि गर्मीको समयमा बोरिङबाट पानी सञ्चित गर्नुपर्ने भएको बताए । उनका अनुसार विगतमा माछापालन गर्दा ताल नसुकाएर माछा निकाल्ने गरिए पनि नगरपालिकाले ठेक्का दिन थालेपछि तालको पानी सुकाएर माछा निकाल्ने गरिएको छ । जसका कारण प्राकृतिक ताल सुक्दै गएको छ ।

धेरै प्राकृतिक ताल गर्मीका कारण सुक्न थालेपछि बोरिङबाट पानी सञ्चित गरिएको छ । पन्छी संरक्षण नेपालका फिल्ड मेनेजर हिरुलाल डङ्गौराले सिमसार क्षेत्रको महìवपूर्ण अङ्गका रूपमा पानी रहेको बताउनुभयो । रामसार सूचीमा सूचीकृत हुँदा घोडाघोडी तालसँग २० वटा ताल सूचीकृत भएको र ती सूचीकृत तालमध्ये छ वटा ताल सुकेर चौरमा परिणत भएको हिरुलालले जानकारी दिए । गोरखापत्रबाट