सर्पले डसेर एक युवकको मृत्यु

सर्पले डसेर एक युवकको मृत्यु

झापा । झापाको हल्दिबारीमा विषालु सर्पको डसाइबाट एक युवकको मृत्यु भएको छ। हल्दिवारी गाउँपालिका- २ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

प्रहरीका अनुसार आइतबार मध्यरातमा घरको ढोकामा विषालु सर्प देखेपछि राजवंशीले सर्पलाई समातेर घाँटीमा बेर्न खोजेका थिए। सोही क्रममा सर्पले उनको दुवै हातमा डसेका थिए। सर्पले डसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चाराआली लैजाने क्रममा बाटैमा मृत्यु भएको डीएसपी रिजालले बताए। 

अत्यधिक मदिरा सेवन गरेका कारण उनले सर्प समातेर घाटीमा बेर्न खोज्दा घटना घटेको प्रहरीले जनाएको छ।