‘सरकारले स्वरोजगारको नारा घन्कायो, सामाजिक परिचालकलाई हटायो’

‘सरकारले स्वरोजगारको नारा घन्कायो, सामाजिक परिचालकलाई हटायो’

धनगढी : बैतडीको दशरथचन्द नगरपालिकाकी पार्वती चन्द विगत एक महिनादेखि धनगढीमा छन । धनगढीको टन्टलापुर घाममा कोखमा दुधे बालक बालक बोक्दै अर्को हातमा छाता समातेर उनी चर्को नारा लगाउदैछन । 

बुधवार मुख्यमन्त्री कार्यालय अगाढी उनी चर्को स्वरले नारा लगाउदै थिईन्, ‘सरकारले स्वरोजगारको नारा घन्कायो, सामाजिक परिचालकलाई हटायो’ ।

कोखमा दुधे बालक, हातमा छाता बोक्दै धनगढीको गर्मीमा नारा लगाउनु उनको रहर हैन, बाध्यता हो । 
‘घरमा तिन छोराछोरी छन । उनीहरुलाई एक महिनादेखि घरमै छोडेर आफु धनगढीमा छु ।’ उनले दुखेसो पोखिन्, ‘सरकारले हरेक व्यक्तिलाई रोजगार दिने नारा लगाईरहेको छ, तर, हाम्रो त भएकै जागिर पनि खाईदियो ।’

उनले भनिन्, ‘निर्वाचनका बेला घरघरमा गएर सवैलाई मत हाल्न सिकायौ । त्यसका कारण अहिले कोही मन्त्री त कोही सांसद भएका छन । तर, हाम्रा गुनासा सुन्दैनन ।’ उनले स्थानीय तहमै समायोजन हुनेपर्ने माग गरिन । 

यो बाध्यता र गुनासो पार्वतीको मात्रै हैन, प्रदेश ७ का ४ सय ५६ जना सामाजिक परिचालकको हो । सरकारले उमेर हदबन्दी भन्दै जागिरबाट हटाईदिएपछि उनीहरु समस्या परेका छन र स्थानीय तहमै समायोजन गर्नुपर्ने भन्दै एक महिनादेखि प्रदेश अस्थायी राजधानीका प्रत्येक कार्यालय धाईरहेका छन ।

यसअघि लगातार ९ दिन आन्दोलन गरेका प्रदेश ७ का पहाडी जिल्लाका सामाजिक परिचालकहरुसग प्रदेश सरकारले माग सम्बोधन गर्ने मौखिक सहमति गरेको थियो । 

सो क्रममा सामाजिक परिचालकलाई स्थानीय तहमै समायोजन गर्न भन्दै केन्द्र सरकारसग समन्वय गर्ने सहमति भएको थियो । तर, सहमति भएको दुई साता वित्दा पनि सहमति कार्यान्वयन नभएको भन्दै उनीहरु पुनःआन्दोलित भएका हुन । 

‘साविकका स्थानीय निकायमा ९÷१० वर्षदेखि जीवन निर्वाह भत्तामै काम ग¥यौ । अहिले आएर जागिरबाट हटाईदिए ।’ सामाजिक परिचालक आन्दोलन समितिका संयोजक माधव प्रसाद जोशीले भने, ‘अधिकाशको उमेर ३५ वर्ष सामाजिक परिचालकमै जागिर खादा वित्यो । अहिले उमेर हद भन्दै जागिर खान मिल्दैनन रे । अन्य जागिर खान पनि उमेर बढी भैसक्यो ।’

उनले सामाजिक परिचालकलाई स्थानीय तहमा समायोजन गर्ने आश्वासन पुरा नभएपछि पुनः सडकमा आएर आन्दालेन गर्नु परको जनाकारी दिए । 

सरकारले घर घरमा रोजगारीको नारा दिईरहेका वेला ९÷१० बर्ष सम्म सामाजिक परिचालकका रुपमा काम गरेका आफुहरुलाई हटाएर अन्याय गरेको गुनासो उनीहरुको छ । 

‘आफुहरुलाई स्थानीय तहमै समायोजन गर्नुपर्ने माग पुरा नहुदाँ सम्म आन्दोलन जारी रहने छ ।’ सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नम्बर ७ का अध्यक्ष खडक कैनीले भने । प्रदेश नम्बर ७ मा ४ सय ५६ जना सामाजिक परिचालकका रुपमा काम गदै आएका छन् । 

धनगढीको चर्काे घाममा एक महिना देखि बाल बच्चा लिएर आन्दोलन गरिरहेका सामाजिक परचालकहरुको माग प्रति प्रदेश सरकारको चासो देखाएको छैन । 

बुधवार प्रदेश सभा भवनको गेटमा धर्ना दिईरहेका सामाजिक परिचालकहरु आफ्नो मागको सुनुवाईका लागी सरकार र प्रदेश सभा सदस्यसंग याचना गरिरहेका बेला सरकारका मन्त्री र सांसदहरु भने उनिहरुको आवाज नसुने झै गरी रहेका थिए ।