महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रस्थित मुम्बई–नागपुर राजमार्गमा एउटा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ। 

एक निजी बसमा अचानक आगो लाग्दा ठूलो संख्यामा मानवीय क्षति भएको महाराष्ट्र प्रहरीले जनाएको छ। महाराष्ट्रको बुलढाणा जिल्लाका एसपी सुनिल कडासनेका अनुसार ३२ यात्रु सवार बसमा आगो लाग्दा धेरैजसो यात्रु निन्द्रामा थिए, जसका कारण उनीहरू तत्काल बसबाट ओर्लिनसमेत नसकेको आशंका गरिएको छ। 

तीव्र गतिमा रहेको बसको टायर पड्किएपछि बस एउटा खम्बा र त्यसपछि एउटा पुलमा गएर ठोक्किएको थियो। त्यसपछि बसको डिजेल ट्यांकी फुटेपछि आगलागी भएको हो। बसमा सवार बाँकी यात्रुले झ्यालका शिशा फोडेल ज्यान जोगाउन सफल भए पनि अधिकांश घाइते छन्।

यसैबीच,पश्चिमी केन्यामा एउटा अनियन्त्रित ट्रकको ठक्करबाट कम्तीमा ४८ जनाको मृत्यु भएको छ। व्यस्त क्षेत्रमा तीव्र गतिमा आएको ट्रकको ठक्करबाट अरु ३० जना गम्भीर घाइते भएका छन्।

तीव्र गतिको ट्रक भिडभाड भएको क्षेत्रमा आइपुग्दा नियन्त्रण गुमाएको अधिकारीहरुले जनाएका छन्। कैयौँ मानिसलाई ठक्कर दिएपछि ट्रक पल्टिएको थियो।