बैतडीमा ९० प्रतिशत रोपाइँ सम्पन्न

बैतडीमा ९० प्रतिशत रोपाइँ सम्पन्न

बैतडी । बैतडीमा ९० प्रतिशत रोपाइँ  सम्पन्न भएको  छ । हालसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र बैतडीले  जनाएको  छ । वर्षा भएपछि किसानहरुलाई रोपाइँ गर्न सहज भएको  कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले बताए ।

सिँचाइको सुविधा भएको ठाउँमा वर्षाअघि  रोपाइँ सम्पन्न भएकोमा अहिले  वर्षा हुनथालेपछि  आकाशे पानिले किसानहरु रोपाइँ गरिरहेका छन् ।  वर्षमा तीन बाली लाग्ने बेसीतिर र अन्य केही स्थानमा रोपाइँ बाँकी रहेको र यो महिनाको अन्तिमसम्म सबै ठाउँमा रोपाइँ सम्पन्न हुने कृषि ज्ञानकेन्द्रका  प्रमुख चौधरीले बताए ।

बैतडीमा ९ हजार हेक्टरमा झण्डै १८ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धानखेतीको पकेट क्षेत्र मानिन्छ ।