दार्चुलामा पहिलो पटक नगरबस सञ्चालन

दार्चुलामा पहिलो पटक नगरबस सञ्चालन

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकाले पहिलो पटक नगरबस संचालनमा ल्याएको छ । महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले सोमबार नगरबसको विधिवत रुपमा उद्घाटन गरी बसमा चढेर ७ किलोमिटर यात्रा समेत गरेका हुन् ।

जिल्लामा २ वटा नगरपालिका घोषणा भएका छन् तर महाकाली नगरपालिकाले जिल्लामै पहिलोपटक नगरबस संचालन गरेको हो । नगरबासीको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै बस सेवा सुरु गरिएको महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले बताउनु भयो ।

नगरसभा र नगरकार्यपालिकाको बैठकबाट नगरबासीहरुको यातायातमा सहजताका लागी नगर बस संचालनमा ल्याउने निर्णय अनुरुप सोमबार देखि बस संचालनमा ल्याईएको हो । उँहाले नगर क्षेत्रका जनतालाई सहुलियत यातायातको निकै समस्या भएकोले नगरबस सन्चालनमा ल्याएको जानकारी दिए ।

तत्काललाई नगरपालिकाको वडा नम्बर ४ देखि ९ नम्बर वडासम्म मात्रै सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । वडा नम्बर १, २ र ३ क्षेत्रमा भने पक्की सडक नभएकाले बस सञ्चालन गरिने छैन । सहुलियत भाडा दर कायम गरी नगरपालिकाले ४० सिट क्षमता भएकोे बस संचालनमा ल्याएको हो । नगर बसको विभिन्न रुटको भाडादर निर्धारण गरिने र टिकट अनिवार्य गरिने बताइएको छ ।

नगरकार्यपालिकाले नगरबस संचालन तथा व्यवस्थापन कार्य्विधि २०७५ पारित गरी बस संचालनको तयारी थालेको हो । नगरबस संचालनका लागी वडा नम्बर ३ का वडा अध्यक्ष पदम महर संयोजक रहने गरी ७ सदस्यीय नगरबस संचालन तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

यस्तै नगरपालिकाको नगरबस संचालन तथा व्यवस्थापन समितिको बैशाख १९ गते सरोकारवालाहरु संग बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बस छुट्ने समय तालिका निर्धारण तथा भादादर र व्यापारिक प्रयोजनका सामग्री ओसारपसार सम्बन्धमा निर्णय गरिएको समितिका संयोजक पदम महरले जानकारी दिए ।

बस बेतबाट विहान ५ः३० बजे खलंगा, बिहान ७ः१५ बजे खलंगाबाट बेत, विहान ८ः३० बजे बेतबाट खलंगा, दिउसो १ बजे खलंगाबाट बेत, दिउसो २ः३० बजे बेतबाट खलंगा र वेलुकी ५ः३० बजे खलंगाबाट बेतका लागी बस छुट्ने उहाले बताउनु भयो ।

बसमा व्यापारिक प्रयोजनका सामग्री वसारपसार गर्न नपाईने निर्णय भएको उहाले बताए । नगरबसमा अपाङ्गता भएका, जेष्ठ नागरिक, विद्यार्थीहरुलाई भने छुटको व्यवस्था गरेको छ । नगर बसमा ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क बस सेवा प्रदान गरिने नगर प्रमुख हंसराज भट्टले बताए ।

यस्तै ५ वर्षमुनिका बालबालिकाहरुलाई पनि निःशुल्क बस सेवा प्रदान गरिनेछ । विद्यार्थीहरु तथा एकल महिलाहरुलाई समान ५० प्रतिशत भाडा छुट गरिने नगर प्रमुख भट्टको भनाई छ । यस्तै ७० वर्षमाथिका जेष्ठ नागरिकहरुलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।