नेपालमा रासायनिक मल कारखानाको अध्ययन गर्न समझदारी

नेपालमा रासायनिक मल कारखानाको अध्ययन गर्न समझदारी

काठमाण्डौ । नेपालमा रासायनिक मलको कारखानाबारे विस्तृत सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डले जर्मनीको एक कम्पनीसँग समझदारी गरेको छ । समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र जर्मनीको डायग इन्डस्ट्रिजका कार्यकारी निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गरेका छन् ।

सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावलीको व्यवस्थाअनुसार २०७८ सालको चैत १७ गते डायग कम्पनीको प्रस्ताव स्वीकृत गरेर अध्ययन अनुमतिपत्र दिने निर्णय भएको थियो । कम्पनीले अनुमतिपत्र प्राप्त गरेको मितिले दुई वर्षभित्र सम्भाव्यता अध्ययनको रिपोर्ट बोर्डमा पेस गर्नुपर्नेछ ।

डायगले उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल युरिया उत्पादन गर्ने प्रस्ताव गरेको छ । उल्लिखित प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि अमेरिकी डलर सात सय १४ मिलियन डलर अर्थात् साढे ९४ अर्ब रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान रहेको छ ।

आउँदो आर्थिक वर्ष २०८०-८१ को बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक–निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने व्यवस्था उल्लेख छ।