महाकाली नगरपालिकाको नाममा जिल्ला अदालत दार्चुलाको अल्पकालीन अन्तरिम आदेश जारी

महाकाली नगरपालिकाको नाममा जिल्ला अदालत दार्चुलाको अल्पकालीन अन्तरिम आदेश जारी

दार्चुला । जिल्ला अदालत दार्चुलाले नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परिक्षाको विज्ञापन २०८० लाई कार्यान्वयन नगर्न विपक्षी महाकाली नगरपालिका नगरकार्यपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले आइतबार नगरपालिकाले २०८० असार २४ गते गरेको नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परिक्षा विज्ञापन २०८० लाई कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

निवेदक मालिकार्जुन गाउँपालिका–२ बस्ने सुन्दर सिंह धामी समेत ३ जनाको निवेदन उपर अधिवक्ताद्धय धिरेन्द्र साउँद र हरिशचन्द्र जोशीले गर्नुभएको बहस पछि विपक्षी महाकाली नगरपालिका नगरकार्यपालिकाको नाममा अल्पकालिन अन्तरिम आदेश जारी भएको दार्चुला जिल्ला अदालतका श्रेष्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिए।

निवेदक सुन्दर सिंह धामी, दिनेश मल्ल र पुष्पराज जोशी महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् । निवेदकहरुले अन्तरिम आदेशको माग गरेको देखिदा सो सम्बन्धमा दुबै पक्षहरुलाई राखि छलफल गर्नु मनासीव देखिएकोले सो प्रयोजनको लागि दुवै पक्षहरुलाई छलफलका लागि २०८० साउन ३ गते उपस्थित हुन अदालतबाट आदेश भएको उनले बताए ।

यसअघिको स्थानिय सरकार महाकाली नगरपालिकाले सबै पक्रिया पुरा गरी भर्ना गरेका शिक्षकहरुको पुनः परिक्षा लिनु पर्ने कारण के हो ? लगायतका विषयहरु उल्लेख गरि असार २९ मा दार्चुला जिल्ला अदालतमा निवेदन परेको थियो ।

महाकाली नगरपालिकाले असार २४ गते आधारभूत तह (कक्षा ६–८०) र माध्यमिक तह कक्षा (९–१०) मा ३३ जना नगर शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । नगरपालिका स्थित सामुदायिक विद्यालयमा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्धारा ३३ जना नगर शिक्षक भर्ना गर्न उक्त विज्ञापन गरिएको हो । 

आधारभूत तहका ९ विद्यालयमा २१ जना र माध्यमिक तहका ७ विद्यालयमा १२ जना शिक्षक भर्ना गर्न विज्ञापन गरिएको थियो ।