दून एकेडेमीलाई वेस्ट क्लब अफ मन्थ अवार्ड

दून एकेडेमीलाई वेस्ट क्लब अफ मन्थ अवार्ड

धनगढी । धनगढी उपमहानगरपालिका वडानम्बर ३ भन्साररोडमा रहेको दून एकेडेमीको ग्रिन क्लिन दून एकेडेमी क्लबले वेस्ट क्लब अफ मन्थको अवार्ड जितेको छ ।

जुन महिनामा स्थानीय वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै ग्रीन क्लिन धनगढीले दून एकेडेमीलाई महिनाकै उत्कृष्ट क्लबको अवार्ड प्रदान गरेको हो ।

ग्रीन क्लिन धनगढीका अध्यक्ष सुवास शाहीले ग्रीन क्लिन दून एकेडेमी क्लबका अध्यक्ष बसन्त खड्का र विद्यालयको तर्फबाट शिक्षक सहजकर्ता वीर बहादुर दमाईलाई सोमबार अवार्ड प्रदान गरे ।

जुन महिनामा क्लबले धनगढी नगरपालिकाले सुरु गरेको हरियाली प्रवर्धन कार्यक्रममा विशेष योगदान दिएको थियो । यस्तै क्लबले सरसफाईं, वृक्षारोपण तथा वातावरण सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरेको थियो ।

क्लबका अध्यक्ष खड्काले अवार्ड ग्रहण गरेपछि आफूहरुले खोलेको योगदानको कदर भएको र आगामी दिनमा थप कटिबद्ध भएर लाग्ने बताए ।

एक दशकअघि देखि स्वच्छ र हराभरा धनगढी बनाउँने लक्ष्यसहित सुरु भएको ग्रीन क्लिन धनगढीले धनगढीका विभिन्न २१ वटा स्कुलहरुमा  क्लबहरु गठन गरेको छ ।

ती क्लबहरुले स्थानीय वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कामहरु गर्दै आएका छन् ।

त्यसमध्ये महिनाभरि उत्कृष्ट काम गर्ने क्लबहरुलाई महिनाकै उत्कृष्ट क्लबको अवार्ड दिने गरिएको छ।