अर्थमन्त्री महत र चिनियाँ समकक्षीबीच भेटवार्ता

अर्थमन्त्री महत र चिनियाँ समकक्षीबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा।प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ ।

भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा अर्थमन्त्री डा।महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा द्विपक्षीय आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ । सो अवसरमा अर्थमन्त्री डा।महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

सन् २०१९ नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपालको समग्र आर्थिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

मन्त्री महतले नेपाल र चीनबीचका महत्त्वपूर्ण सीमानाकाहरूबाट दुई देश जोड्ने सडक परियोजनाहरू सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायहरूले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास पनि व्यक्त गरे।

भेटवर्तामा चिनियाँ अर्थमन्त्री कुनले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका थिए।