महाकाली सिँचाइ आयोजना साढे ६ सय हेक्टरमा सिँचाइ पुर्‍याउन पुग्यो

महाकाली सिँचाइ आयोजना साढे ६ सय हेक्टरमा सिँचाइ पुर्‍याउन पुग्यो

महेन्द्रनगर । आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत साढे छ सय हेक्टरमा सिँचाइ पुर्‍याउन सकिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएको छ ।

महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक ९गेट० परीक्षणदेखि निर्माण भएको मूल नहरमा पानी परीक्षणसमेत भइसकेको आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिनुभयो । मूल नहर निर्माण भएको क्षेत्रसम्म पानी परीक्षण गरिएको उनले बताए ।

“नेपाल–भारत सीमानाकासम्म महाकाली सन्धिअनुसार भारतले एक हजार दुई सय मिटर मूल नहर बनाएपछि गत वर्ष असारमा पानी परीक्षण समेत गरेको थियो”, इन्जिनियर पण्डितले भन्नुभयो, “हामीले पनि अहिलेसम्म बनेको नहर परीक्षण गरेर सकेका छौँ ।” पानी परीक्षणका क्रममा आयोजना कार्यालयले शुक्लाफाँटा नगरपालिकाको सुनबरा नदीमा पानी छाडेको उनले बताए ।

इन्जिनियर पण्डितका अनुसार हाल निर्माणाधीन २२ वटा शाखा नहरमध्ये दुईवटा शाखा नहर तयार भइसकेका छन् । उहाँले भन्नुभयो, “२० र २१ नं शाखा नहर तयार भएर साढे छ सय हेक्टरमा सिँचाइ पुर्‍याउन सकिने भएको छ । अब महाकाली नदीबाट नियमित पानी ल्याउने विषयमा पहल गर्नेछौँ ।”

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा विसं २०६४ देखि सुरु भएको मूल नहर निर्माणको थप काम अगाडि बढाउने प्रक्रिया रहेको आयोजनाले जनाएको छ । आयोजनाको कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । 

त्यस्तै, २८ किलोमिटर (शुक्लाफाँटाको फुलेली) देखि ४८ किलोमिटरसम्मको २० किलोमिटर मूल नहर निर्माणको प्रक्रिया सिँचाइ विभाग पुगेको इन्जिनियर पण्डितले जानकारी दिए ।