जंगली च्याउ खाँदा रोल्पामा एक हप्तामा चार जनाको मृत्यु

जंगली च्याउ खाँदा रोल्पामा एक हप्तामा चार जनाको मृत्यु

रोल्पा । रोल्पामा जंगली च्याउ खाँदा ७ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । सोही घटनामा एकै परिवारका थप चार जनाको बुटवल र भैरहवामा उपचार भइरहेको छ ।

रोल्पाको लुँग्री गाउँपालिका- ५ बुझिङकी ७ बर्षीया रोशनी बिकको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मंगलबार बिहान पौने ९ बजतिर मृत्यु भएको रुपन्देहीका डीएसपी श्याम सारु मगरले जानकारी दिए ।

जंगली च्याउ खाएकामध्ये रोशनीकी आमा २६ वर्षीया बिमला बिकको आईसीयूमा राखेर उपचार भइरहेको छ । त्यस्तै २४ वर्षीया दिलमाया बिक, ६ वर्षीया आकृति बिक र २३ वर्षीया रितु बिकको लुम्बिनी सिटी हस्पिटल बुटवलको इमर्जेन्सी वार्डमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

असार २६ गते स्थानीय वनबाट ल्याएर  जंगली च्याउ खाएपछि उनीहरूको स्वास्थ्यमा समस्या देखिएको थियो । असार २९ गते मात्रै उनीहरू प्राथमिक स्वास्थ्य सुलिचौरमा उपचारका लागि गएका थिए ।

त्यहाँ उपचार संभव नभएपछि सुलिचौरले सोही दिन बेलुका ४ बजे थप उपचार गर्न भन्दै लुम्बिनी सिटी हस्पिटल बुटवलका लागि रिफर गरिदिएको थियो । तर, उक्त दिन उनीहरू पैसाको जोहो गर्ने भन्दै घर गएको प्रहरी निरीक्षक भुसालले जानकारी दिए ।