गुल्मी मालिकाको आलु प्याकेजिङ् र ब्राण्डीङ

गुल्मी मालिकाको आलु प्याकेजिङ् र ब्राण्डीङ

गुल्मी । गुल्मीको अर्खाबाङ्गमा परम्परागत शैलीमा उत्पादन हुदैँ आएको रैथाने आलुलाई बजारीकरण  गर्न आलु ब्राण्ड, लेवल र प्याकेज गरेर बजारमा ल्याइएको छ । स्थानीय उत्पादनलाई प्रर्बद्धन गरी कृषकलाई उचित मुल्य प्रदान गर्न आयातित संस्कार र परिकारको साटो आर्गानिक परिकार प्राथमिकता दिन रैथाने आलुलाई बजारमा ल्याईएको हो । 

मालिका गाउँपालिका ०४  अर्खबाङ्ग क्षेत्र आलु उत्पादनको लागि जिल्लाकै प्रसिद्ध मानिन्छ । उपयुक्त हावापानी हुदाँ थोरै मेहेनतमा यहाँका कृषकले मनग्य आम्दानी गरिरहेका छन् । यसक्षेत्रको आलु अर्गानीक भएकाले खानामा स्वादिष्ट र पोसिलो मानिन्छ । स्थानीयले वषौंदेखि बारीमा आलुको विउ विनानै परम्परागत शैलीमा आलु खेती गर्दै आईरहेका छन् । अर्खाबाङ्ग लगायतका क्षेत्रमा उत्पादन हुदैँ आएको रैथाने आलुको प्रचारप्रसार गरी बजारीकरण गर्न गाउँपालिका र कृषि ज्ञान केन्द्र गुल्मीले आलु ब्राण्ड, लेवल र प्याकेज गरेर बजारमा ल्याइएको छ । गाउँका कृषकले बजार पाउने, शहरका उपभोक्ताले गुणस्तर पाउने नाराका साथ जिल्लाको सदरमुकाम तम्घासमा सरोकारवाल विच एक कार्यक्रमको आयोजना गरी रैथाने आलुको ब्राण्ड लेवल र प्याकेज  सार्वजनिक गरिएको हो । यहाँ उत्पादन भएको रैथाने आलुलाई आधुनिकिकरण गरी यसलाई ब्राण्ड लेवल र प्याकेज गरेर बजारमा ल्याइएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।  ग्रामीण क्षेत्रमा उत्पादन भएको रैथाने आलुलाई ५ केजी, १० केजी र २० केजीका बोरामा प्याकेज गरेर तम्घास बुटवल लगायतका शहरमा पुप्र्याउने तयारी भईरहेको छ । आलुले बजार र कृषकले परिश्रमको उचित मुल्य पाउने भएपछि आफूमा केहि आशा थपिएको कृषक बताउँछन् । 

मालिकाको रैथाने सेतो आलु एक वर्ष लगाएपछि वषौं लगाउन नपर्ने र पटक पटक यसले उत्पादन दिईरहने यहाँको आलुको बिशेषता नै हो । यस वर्ष करिब ६६० रोपनी आलु पकेट क्षेत्रमा ३ सय टन भन्दा धेरै आलु फलेको छ । कृषकले उत्पादन गर्दै आलुलाई स्थानीय पहिचान गरी गाउँपालिकाले अब दिर्घकालीन योजना बनाएर आलुखेती र बजारीकरणमा ध्यान दिनुपर्ने सरोकारवालाको भनाई छ । 

स्थानीय जातको आलुलाई ब्राण्ड, लेवल र प्याकेज गरेर बजारीकरण गर्दा र परनिर्भरता घटाउन मद्दत पुग्ने गाउँपालिकाले अपेक्षा लिएको छ । गाउँपालिकाले आलु खतीमा राम्रो सम्भावना देखेपछि यस क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरी विभिन्न किसिमका कार्यक्रम अगाडी बढाइएको छ ।

परम्परागत शैलीमा आलुखेती गर्दै आएका कृषकलाई बजारीकरणको ग्यारेण्टीले थप टेवा पुगेको छ ।