अहिलेसम्म देशभर ६८ प्रतिशतमात्रै रोपाइँ

अहिलेसम्म देशभर ६८ प्रतिशतमात्रै रोपाइँ

काठमाण्डौ । देशभर अहिलेसम्म ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो हप्तासम्म ६८ प्रतिशतमात्र रोपाइँ भएको हो ।

पोहोर साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ सकिएको थियो । गएको वर्षको तुलनामा यसवर्ष अहिलेसम्म २० प्रतिशत कम रोपाइँ भएको हो । मधेश प्रदेश, बागमती र गण्डकीमा मनसुन प्रवेशमा ढिलाइ हुँदा रोपाइँमा असर परेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो । त्यस्तै गोरुमा लम्पी स्कीन रोग देखिएका कारण पनि रोपाइँमा ढिलासुस्ती भएको छ ।

मध्य तराइमा साउन मध्यसम्म नै रोपाइँ हुने गरेकाले यसवर्ष ९५ प्रतिशतसम्म रोपाइँ हुने मन्त्रालयको दाबी छ । कुलो लाग्ने खेतमा समयमै रोपाइँ भए पनि आकाशे पानीको भरमा रोपिने खेतमा अझै पूर्णरूपमा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको र मुख्य गरी मधेस प्रदेशमै रोपाइँ कम भएकाले यस वर्ष धान उत्पादन घट्न सक्ने अनुमान गरिएको छ ।