सुन तस्करी प्रकरणमा भन्सार अधिकृत सहित थप ६ जना पक्राउ

सुन तस्करी प्रकरणमा भन्सार अधिकृत सहित थप ६ जना पक्राउ

काठमाडौँ । करीब एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृत सहित थप ६ जना पक्राउ परेका छन्।

राजस्व अनुसन्धान विभागले आइतबार तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको हो। भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी (खरिदार) कुमार ढकाल र एक्स(रे प्राविधिक सरोज श्रेष्ठलाई नियन्त्रणमा लिइएको विभागले जनाएको छ।

त्यस्तै, विभागले सुन तस्करीमा संलग्न रहेको आरोपमा तीन जना भन्सार अजेन्टलाई पनि पक्राउ गरेको छ। भन्सार अजेन्टहरू रुक्मिला सुब्बा, सुदर्शन गौतम र यादव पराजुलीलाई नियन्त्रणमा लिइएको विभागले जनाएको छ। यो प्रकरणमा अहिलेसम्म १४ जना प्रकाउ परिसकेका छन्।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास गरी ल्याइएको करीब एक क्विन्टल सुन विभागको टोली बरामद गरेको थियो। सुनसँगै दुई जनालई पनि पक्राउ गरेको थियो।

त्यसपछि त्यसको भोलिपल्ट साउन ३ गते भारतीय नागरिक थुप्तेन छिरिङ र साउन ४ गते चिनियाँ नागरिक चिनियाँ नागरिक जेयुङ लिनलाई पक्राउ गरेको थियो। उनीहरू चीन भाग्ल लागेको वेला पक्राउ गरिएको थियो।

त्यस्तै, यसअघि ट्याक्सी चालक अशोक रानामगर, भन्सार अजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेललाई पक्राउ गरिसकेको छ।

आइतबार विभागले त्यतिवेला भन्सारमा रहेका तीन जना कर्मचारीलाई बयानका लागि उपस्थित गराउन भनेको थियो। विभागमा पुगेका तीनै जनालाई कर्मचारीलाई नियन्त्रणमा लिएको हो। उनीहरूमाथि अनुसन्धान शुरू भएको विभागले जनाएको छ।