महाकाली नदीले कटान गर्न थालेपछि...

महाकाली नदीले कटान गर्न थालेपछि...

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् ।

जोगबुढा र महाकाली नदीको दोभान भएका कारण त्यस क्षेत्रमा हरेक वर्ष डुबान र कटान हुने गरेको छ । महाकाली नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्न थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले जानकारी दिए। ‘बस्तीबाट ४०/५० मिटरको दूरीमा महाकाली नदीले कटान थालेको छ यसलाई रोक्न अस्थायी तटबन्ध गर्न थालेका छौँ,’ नगरप्रमुख लिम्बूले भने, ‘अहिलेसम्म नदीले दुई बिघाभन्दा बढी जग्गा कटान गरिसकेको छ ।’ 

उनले महाकाली नदीमा जलस्तर बढ्दा काम गर्न निकै कठिन भएको बताए। अहिले त्यस क्षेत्रमा स्थानीयवासीले रुखका हाँगा, बाँस र डोरीले पानीको प्रवाह कम गर्न अस्थायी तटबन्धको काम गरिरहेका छन् । ठूलो बाढी नआउँदै महाकालीले कटान गर्न थालेपछि यहाँका स्थानीयवासी त्रसित बनेका छन् । ‘यहाँको खेतीयोग्य जग्गा नदीले तीव्ररूपमा कटान गरिरहेको छ,’ एक स्थानीयले भने, ‘बाढीको त्रासले यहाँका बासिन्दाले सुत्न पाएका छैनन् ।’ उनले कटान रोक्नका लागि स्थानीय पालिकाले तत्काल काम गर्नुपर्ने बताए।

४९ परिवारको बसोबास रहेको यो बस्तीमा यहाँका स्थानीयवासी तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्ने गर्छन् । बाढीले यहाँको बिघौँबिघा जग्गा बगरमा परिणत गरेको छ ।