डोटीको सिलगढी–झिग्राना सडकको कालोपत्रे एक वर्ष पनि टिकेन

डोटीको सिलगढी–झिग्राना सडकको कालोपत्रे एक वर्ष पनि टिकेन

डोटी । डोटीको सिलगढी–झिग्राना सडक कालोपत्रे भएको एक वर्षमै भत्किएको छ । जिल्ला सदरमुकाम सिलगढीदेखि प्रमुख पर्यटकीय स्थल खप्तडको मुख्य प्रवेशद्वार झिग्रानासम्म पुग्ने सडक कालोपत्रे भएको एक वर्षमै भत्किएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा सिलगढी–ओखरबोट सडक खण्ड निर्माणको काम २०७९ साल असार २० गते सम्पन्न भएको थियो । अढाई वर्षमा काम सम्पन्न गर्ने गरी २०७६ साल असार ३० गते सम्झौता भएकोमा कोरोना महामारीको कारण देखाउँदै २०७९ साल असोज ३० गतेसम्म म्याद थप भएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ ।

कुल १९ करोड ७८ लाख ४४ हजार ३१३ रुपैयाँको लागतमा निर्माण भएको करिब ८ किलोमिटर सडकको अधिकांश ठाउँमा कालोपत्रे उप्किएको छ ।

सोही सडकको ओखरबोट–झिग्राना सडक खण्डको कालोपत्रे पनि एक वर्ष टिकेन । २६ करोड ६२ लाख २७ हजार ६२८ रुपैयाँ लागतमा निर्माण भएको सात किलोमिटर सडकमा गाडी चलाउनै समस्या हुने गरी कालोपत्रे उप्किएको स्थानीय चालकहरु बताउँछन् ।

एकै दिन टेण्डर आह्वान र सम्झौता भएका यी दुवै खण्डको काम पनि एकै दिन सम्पन्न भएको पूर्वाधार कार्यालयले जनाएको छ । दुवै सडक खण्ड निर्माण कम्पनी चन्द्र एण्ड वसन्त (सीएबी) कन्स्ट्रक्सन प्रालिले २०७९ असार मसान्तमा हस्तान्तरण गरेको थियो ।

हस्तान्तरण गरेको एक वर्ष नपुग्दै कालोपत्रे उप्किएको छ । ‘कालोपत्रे गर्दा चिल्लो देखिएको सडक अहिले कालोपत्रे गरेको हो कि हैन भन्ने नै थाहा पाइँदैन’, स्थानीय सवारी चालक कृष्णबहादुर ओली भन्छन्, ‘अधिकांश ठाउँमा नालीसमेत भत्किएको छ ।’

सडक कालोपत्रेपछि खुशी भएका स्थानीयवासी कालोपत्रे भत्किन थालेपछि आक्रोशित देखिएका छन् । निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेका कारण चाँडै सडक भत्किएको स्थानीय दिलबहादुर साउदको आरोप छ ।

बाहिर चिल्लो देखिएको सडकको गुणस्तर मापन नगरिँदा यस्तो समस्या भएको उनले बताए ।

उता सहजपुर–बोगटान–दिपायल सडकको राजपुर–रानागाउँ खण्डको कालोपत्रे पनि दुई वर्षमै उप्किएको छ । सुदूरपश्चिम प्रदेश सरकारकै लागतमा २०७८ साल जेठ २९ गते काम सम्पन्न भएको उक्त सडकको अधिकांश ठाउँमा कच्ची सडक जस्तै बनेको स्थानीय डबल बोगटी बताउँछन् । पूर्वाधार विकास कार्यालयले निर्माण कार्य सम्पन्न नहुँदै निर्माण व्यवसायीलाई सबै भुक्तानी दिएको बोगटीले आरोप लगाएका छन् ।

उनले नाली भत्किएको, कालोपत्रे उप्किएको देख्दादेख्दै पनि सरोकारवालाहरुले कुनै ध्यान नदिएको बताए । पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख नवराज रावल गुणस्तरहीन काम भएको भन्ने आरोप स्वीकार्दैनन् । ‘काम तोकिएको गुणस्तरअनुसार नै भएको हो, गुणस्तरहीन भन्ने कुरा हुँदैन’, उनले भने, ‘डिजाइन इस्टिमेटअनुसारको काम भएपछि मात्रै कार्यालयले भुक्तानी गरेको हो ।’

उनी एक वर्षमै कालोपत्रे उप्किनुमा भू–बनोटको समस्या देख्छन् । ‘भू–बनोट कमजोर भएका कारण झिग्राना सडकमा पहिरोको समस्या छ’, उनी भन्छन् ‘माथिबाट पहिरो आउँछ, नाली बन्द हुन्छ, नाली बन्द भएपछि पानी सडकमा बग्छ र कालोपत्रे बगेर जान्छ ।’

राजपुर–रानागाउँ सडक हस्तान्तरणपछि मर्मतका लागि बजेट विनियोजन नभएका कारण समस्या भएको उनले बताए । उनी थप्छन्, ‘चालू आर्थिक वर्षमा दुइटै सडक मर्मतका लागि बजेट विनियोजन भएको छ, अब काम हुन्छ ।’