सुप विश्वविद्यालयमा १० दिनदेखि तालाबन्दी

सुप विश्वविद्यालयमा १० दिनदेखि तालाबन्दी

धनगढी। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय कञ्चनपुरमा १० दिनदेखि तालाबन्दी यथावत् रहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित विश्वविद्यालयको प्रमुख प्रशासकीय भवन (केन्द्रीय कार्यालय)मा दश दिनदेखि तालाबन्दी हुँदा नियमित काम प्रभावित बनेको छ।

नेकपा (एमाले) निकट अनेरास्ववियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा साउन १ गते तालाबन्दी गरेपछि विश्वविद्यालयको कामकाज प्रभावित बनेको हो।विश्वविद्यालयको भवन सुनसानका साथै विश्वविद्यालयका पदाधिकारीलगायत केन्द्रीय कार्यालय, सेवा आयोग र डिन कार्यालयहरुका कर्मचारी घरमैं आराम गरिरहेका छन्।

अनेरास्ववियू र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले हालै विश्वविद्यालयमा गरिएका नियुक्ति राजनीति प्रेरित एकलौटी ढंगले भएको र विगतको सम्झौताविपरीत ती नियुक्ति गरिएको दावी गर्दै तालाबन्दी गरिएको बताइएको छ। विगतमा विश्वविद्यालय प्रशासनले क्याम्पस प्रमुख, विभागिय प्रमुखलगायतका पदमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने सम्झौता गरेको तर अहिले कार्यकारी परिषद्ले ठाडो रुपमा नियुक्ति दिएको विद्यार्थी सङ्गठनको आरोप छ।

कार्यकारी परिषद्ले हालै १५ क्याम्पसका क्याम्पस प्रमुख, सात विभागका प्रमुख र एक जना अनुसन्धान निर्देशकको नियुक्ति गरेको थियो। अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय आयोजक कमिटीका सह–सचिव दीपकराज अवस्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनिश्चतकालीन तालाबन्दी गरिएको जानकारी दिए। विश्वविद्यालयले बोलाए आफूहरू छलफलमा जाने बताउँदै उनले गत पुसमा अनेरास्ववियु र विश्वविद्यालयबीच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताए ।

यस्तै मानविकी सङ्कायतर्फ आवश्यक रहेका प्राध्यापक नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्ने, छात्रावास निर्माण गर्नुपर्ने, विश्वविद्यालयका प्राध्यापकहरू बाहिर निजी शैक्षिक संस्थामा अध्यापन गर्ने कार्य तत्काल रोक्नुपर्नेलगायत नौ बुँदे माग अघि सारेको बताएका छन् ।यता सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि विश्वविद्यालयको दैनिक कामकाज प्रभावित भएको जानकारी दिए। उनले नियमित कामकाज ठप्प रहेको बताउँदै वार्ताकालागि पहल भएपनि अहिलेसम्म ठोस छलफल भएको बताए । विष्टले उपकुलपति र रजिष्ट्रार दुबै जना आन्दोलनरत पक्षसँग छलफलमा जुटेका भएपनि अहिलेसम्म ठोस प्रगति नभएको बताए ।

तालाबन्दी गर्ने पक्षसँग भइरहेको वार्ता भने गोप्य राखिएको बताइएको छ । कसरी समस्या हल गर्ने भन्नेमा कस्तो खाले समाधान खोजिँदैछ भन्ने आफूलाई पनि थाहा नभएको सूचना अधिकारी विष्टले बताए । हालै गरिएका २३ नियुक्तिमा भागवण्डा नपाएका एमाले र राप्रपानिकटका प्राध्यापकहरुकै योजनामा तालाबन्दी गरिएको र अहिले उनीहरुले नै विश्वविद्यालय प्रशासनसँग बार्गेनिङ गरिरहेको विश्वविद्यालयका एक अधिकारीले बताएका छन् ।भइसकेका नियुक्ति तत्काल बदर गर्नुपर्ने अडानमा एमालेनिकट प्रगतिशिल प्राध्यापक संघ रहेपनि त्यो बाहिरी अडान मात्रै भएको र भित्री रुपमा उनीहरुले कार्यकारी परिषद्मा रिक्त हुन आएका दुई सदस्यमा आँखा लगाइरहेको ती अधिकारीको भनाई छ।

हालैका २३ नियुक्तिपछि पाँच सदस्यीय कार्यकारी परिषद्का दुई सदस्य रिक्त रहेका छन् ।टीकापुर क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख केशर कुँवरलाई हालै क्याम्पस प्रमुखबाट बिदा दिइएपछि कार्यकारी परिषद्को एक स्थान खाली भएको छ। कुँवर क्याम्पस प्रमुखहरुका तर्फबाट परिषद् सदस्य थिए । त्यस्तै, तोयराज भट्ट कैलाली बहुमुखी क्याम्पसका प्रमुख नियुक्त भएपछि परिषद्को अर्को सदस्य पद रिक्त भएको छ। उनी प्राध्यापकहरुको प्रतिनिधित्व गर्दै परिषद् सदस्य थिए। एमालेले सकेसम्म दुईवटै रिक्त परिषद् सदस्य हत्याउने दाउमा तालाबन्दी गरिएको ती अधिकारीको भनाई छ । परिषद्मा भाग पाउनेवित्तिकै खुला प्रतिस्पर्धाको रटान पनि छोड्ने ति कर्मचारीले बताए। तर, अनेरास्ववियू कञ्चनपुरका संयोजक अमर धामीले माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने बताउँदै विगतका सम्झौता पालन गर्ने अडानबाट पछि नहट्ने बताए।