सर्वोत्कृष्ट कृषक बने बहुप्राविधिक खेती गर्दै आएका बडायक

सर्वोत्कृष्ट कृषक बने बहुप्राविधिक खेती गर्दै आएका बडायक

धनगढी । कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ६ मा बहुप्राविधिक रुपमा कृषि खेति गर्दै आएका असारे राम बडायक प्रदेश स्तरिय कृषक पुरस्कारमा सर्वोत्कृष्ट बनेका छन् ।

प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले हरेक वर्ष सर्वोत्कृष्ट तथा उत्कृष्ट कृषकलाई वितरण गर्दै आएको पुरस्कारबाट बडायक सर्वोत्कृष्ट कृषक बनेका हुन् । 

बडायकलाई प्रमाणपत्र र रकमसहित सर्वोत्कृष्ट पुरस्कार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हष्तान्तरण गरे । उनलाई नगद एक लाख ५० हजार मन्त्रालयले प्रदान गरेको छ । 

उखु खेतिसंगै छरुवा धान खेति, आलु लगायतमा विभिन्न प्रविधि प्रयोग गरेर उनी विगत १२ वर्षभन्दा बढी समयदेखि कृषि खेतिमा लागेका छन् । उनले भने –‘मन्त्रालयले सर्वोत्कृष्ट कृषकबाट सम्मान गर्दा खुशीसहित कृषि खेतितर्फ जिम्मेवारी थपिएको महशुष भएको छ ।’

यस्तै मन्त्रालयले नगद ७५ हजारसहित प्रमाणपत्र वितरण गर्दै प्रदेशका चार कृषकलाई उत्कृष्टका रुपमा सम्मान गरेको छ । सम्मानित हुनेमा कैलालीका पहलमान देउवा, डडेल्धुराका प्रिन्सराज अवस्थी, प्रशान्त अवस्थी र जयन्ती भाट रहेका छन् ।

सम्मान ग्रहण गर्दै सम्मानित हुने कृषकहरुले अझै पनि कृषकहरु व्यवसायिक हुन नसकेको गुनासो गरेका थिए । उनीहरुले बैंकले ऋण प्रवाह नगर्ने, समयमा मल खाद नपाइने, सिचाइ अभाव, उत्पादन भएपनि बजारीकरण नहुने, तरकारी भण्डारी केन्द्र अभाव लगायतका समस्या कृषकहरुले भोग्नुपरिरहेको गुनासो गरेका थिए ।

सम्मानित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवालाई कृर्षितर्फ आकर्षण गराएमात्र पहाडका बाँझो खेतमा अन्नबाली उब्जनी सहज हुने बताए । उनले भने –‘समग्र सुदूरपश्चिम प्रदेश समृद्धिको कुरा गरिरहँदा कृषि क्षेत्रलाई अलग राख्न सकिदैन । पूर्वाधार, पर्यटन, जलस्रोतसंगै कृषिबाट पनि प्रदेश समृद्धिको सम्भावना बोकेको छ ।’

उनले सरकारले कृषिमा लगानी गरे पनि सोचेअनुसार प्रतिफल आउन नसकेको बताए । उनले भने –‘विउविजन, मलखाद, अनुदान, सिँचाइ सुविधा लगायत कृषिमा थुप्रै लगानी भएपनि सोचेअनुसारको प्रतिफल आउन सकेको छैन् । कतै सरकारको व्यवस्थापनमा कमजोरी भएर यो अवस्था आएको हो की ? यसमा हामीले पनि सोच्न जरुरी छ । सरकारले प्रतिफल आउने गरि कृषकमा लगानी गर्नुपर्छ ।’ अहिलेको प्रदेश सरकारको सोही सोचका आधारमा अघि बढेको उनको भनाई छ । ‘कसैलाई व्यक्तिगत फाइदा पुग्ने गरि कुनै फर्म वा संस्थामा सरकारको बजेट विनियोजन हुनुहुँदैन । यदि त्यस्तो पाइएको छ भने कार्यान्वयन नगर्नुहोला ।’

गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्र कार्कीले कृषितर्फ सबैलाई आकर्षण गराउन अभियानकै रुपमा अघि बढाउनुपर्ने सुझाव दिए ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव मदनसिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा उद्देश्यबारे कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी गराएका थिए ।
मन्त्रालयले बनाएको भीमदत्त उत्कृष्ट पुरस्कार निर्देशिका अनुसार सर्वोत्कृष्ट तथा उत्कृष्ट कृषकहरु जिल्ला हुँदै प्रदेशसम्म पुरस्कृत गरिदै आएका छन् । यद्यपी प्रदेशले सम्मानित हुने कृषकको संख्या बढ्ने गरि निर्देशिकामा सुधार गरिनुपर्ने निर्देशक यज्ञराज जोशीको भनाई छ ।