सिंगापुर र कुवेतलाई राष्ट्रसंघको आग्रह, फाँसीको प्रावधान हटाऊ

सिंगापुर र कुवेतलाई राष्ट्रसंघको आग्रह, फाँसीको प्रावधान हटाऊ

काठमाडौँ । संयुक्त राष्ट्रसंघले सिंगापुर र कुवेतमा हालै दिइएको मृत्युदण्डको निन्दा गर्दै यो प्रावधानमा रोक लगाउन ती राष्ट्रहरूलाई आह्वान गरेको छ।

सिङ्गापुरमा लागूऔषध ओसारपसारको आरोपमा ४५ वर्षीय एक नागरिकलाई शुक्रबार फाँसी दिइएको छ।

कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका पाँच जनालाई बिहीबार मृत्युदण्ड दिइएको थियो।

गत वर्षको नोभेम्बरमा सात जनालाई मृत्युदण्ड दिइए यता साउदी अरबको छिमेकी खाडी मुलुक कुवेतमा बिहीबार दिइएको मृत्युदण्ड पहिलो हो । साउदी अरबको तुलनामा कवेतमा मृत्युदण्डको सजाय दुर्लभ मानिन्छ।  

संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयका प्रवक्ता सेइफ मगान्गोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी कुवेत र सिंगापुरमा यो साता दिइएका मृत्युदण्डको निन्दा गर्दछौँ र कुनै पनि अवस्थामा हुने मृत्युदण्डको विरोध गर्दछौँ।’

‘हामी कुवेत र सिङ्गापुरलाई तत्काल मृत्युदण्डमा रोक लगाउन र मृत्युदण्डमा रोक लगाउने १७० भन्दा बढी राज्यमा सामेल हुन आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।