बैतडीको सतबाँझका स्याउ बजारमा

बैतडीको सतबाँझका स्याउ बजारमा

बैतडी  । स्याउ उत्पादनका लागि प्रख्यात मानिएको बैतडीको सतबाँझमा उत्पादन भएको स्याउ धेरै बर्षपछि बजारमा आएको छ । सुख्खा फलफूल विकास केन्द्रको हाताभित्र धेरै बर्षपछि विक्रि गर्नका लागि स्याउ उत्पादन भएको हो । 

लामो समयपछि सतबाँझमा स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए । स्याउ फल्ने सतबाँझमा कम हिउँ पर्न थालेपछि स्याउ उत्पादन हुन छोडेको थियो । 

पछिल्लो समयमा हावापानी सुहाउँदो जातको स्याउको बिरुवा रोपेपछि स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख डिल्लीराज भट्टले बताए । 

सुख्खा फलफूल विकास केन्द्रको हाताभित्र रहेको नर्सरीमा फलेको रोयल डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा विक्रि गरेको भट्टले बताए । जिल्ला दररेट अनुसार प्रतिकेजी ८० रुपैंयाका दरले अढाई क्विन्टल बजारमा विक्रि गरिएको उनले बताए । 

लामो समयपछि सतबाँझको स्याउ बजारमा आएकाले स्थानीयहरु समेत खुसी भएका छन् । सतबाँझमा फलेको स्याउ लामो समयपछि बजारमा आएको स्थानीय मानबहादुर टेरले बताए । 

सुख्खा फलफूल विकास केन्द्रको फार्मभित्र गाला फुजी जातको स्याउ पनि उत्पादन भएको छ । अब बारीमा एक क्विन्टलजति स्याउ टिप्न बाँकी रहेको प्राविधिक सहायक खड्काले बताए । 

स्थानीयस्तरमै उत्पादन भएको स्याउको स्वाद लामोसमयपछि चाख्न पाएपछि खुसी लागेको स्थानीय पुष्कर भट्टले बताए ।