प्रदेश सरकारले पायो पूर्णता, विषयगत समितिले कहिले पाउँछ पूर्णता ?

प्रदेश सरकारले पायो पूर्णता, विषयगत समितिले कहिले पाउँछ पूर्णता ?

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तेस्रो पटक मन्त्रीमण्डल विस्तार गरेका छन् । सत्ता साझेदारी दलमा रहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिँदै मन्त्रीमण्डललाई मुख्यमन्त्री शाहले बुधबार पूर्णता दिएका हुन् । 

२०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियूक्त भएका शाहले २७ गते मन्त्रीमण्डल गठन गरेका थिए । नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवालाई भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादी पार्टीका नरेश कुमार शाहीलाई आर्थिक मामिला मन्त्रीमा नियूक्त गर्दै मन्त्रीमण्डल गठन गरेका थिए ।

मुख्यमन्त्री नियूक्त भएपछि झण्डै चार महिना प्रदेशका चार वटा मन्त्रालयको जिम्मेवारी स्वयमले सम्हालेका थिए । २०८० जेठ ६ गते मुख्यमन्त्री शाहले दोस्रो पटक मन्त्रीमण्डल पुर्नगठन गरे । तर, नागरिक उन्मुक्ति पार्टीको साथ नपाउँदा सो समयमा उनले मन्त्रीमण्डललाई पूर्णता दिन सकेनन् । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी स्वयम सम्हाल्दै अन्य मन्त्रालयमा मन्त्री नियूक्त गरे । 

दोस्रो पटक मन्त्री नियूक्त गर्दा नेकपा माओवादी केन्द्रलाई प्रदेश सरकारमा समावेश गरेको थियो । उनको नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण, झपटबहादुर साउँदलाई सामाजिक विकास मन्त्री र नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन तथा गिता देवी माललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियूक्त गरे ।

आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका सिंह डडेल्धुरादेखि बझाङ जाने क्रममा सवारी दुर्घटनामा मृत्यु भएपछि सो मन्त्रालय रिक्त रहेको थियो । मुख्यमन्त्री शाहले बजेट पारित भएलगत्तै मन्त्रीमण्डललाई पूर्णता दिन छलफल भेटघाट तिव्र बनाएपनि उन्मुक्तिको असहयोगका कारण पटक–पटक असफल बने । 

उन्मुक्ति पार्टी सहमतिमा आएपछि मुख्यमन्त्री शाहले बुधबारमात्र दुई मन्त्री र एक राज्यमन्त्री नियूक्त गरे । उन्मुक्तिका प्रदेश सभा सदस्य रामेश्वर चौधरीलाई भुमि व्यवस्था तथा सहकारी मन्त्री र घनश्यामलाई राज्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेपाली काँग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टलाई नियूक्त गर्दै मन्त्रीमण्डलले पूर्णता पाएका छ ।
नवनियूक्त मन्त्रीहरुले बुधबारनै पद तथा गोपनियताको सपथ लिएका छन् । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियूक्त भएका रामेश्वर र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियूक्त शिवराजलाई प्रदेश प्रमुख देवराज जोशीले सपथ खुवाएका थिए भने भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री घनश्यामलाई मुख्यमन्त्री कमलबहादुर शाहले सपथ खुवाएका थिए ।

मुख्यमन्त्री शाहले मन्त्रीमण्डललाई पूर्णता दिएपनि अझै प्रदेश सभा सचिवालयको विषयगत समितिका सभापति चयन गर्न सकेका छैन् । प्रदेश सभा सदस्यहरुलाई विषयगत समितिमा राखिएपनि सो समितिहरुले सभापति पाउन सकेको छैन । सभापति चयन नभएपछि कुनै बैठक बसाउनुपरेमा उनीहरुले ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक गर्नुपर्ने अवस्था रहेको छ ।