धनगढी विद्यालय समायोजनः अभिभावक, शिक्षक, विद्यार्थी असन्तुष्टि, जनप्रतिनिधि पन्छिदै

धनगढी विद्यालय समायोजनः अभिभावक, शिक्षक, विद्यार्थी असन्तुष्टि, जनप्रतिनिधि पन्छिदै

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ ‘डि’ गाउँस्थित बेहडाबावा आधारभुत विद्यालयमा ४७ विद्यार्थी अध्ययनरत छन् । धनगढी उपमहानगरपालिकाले सो विद्यालयलाई सोही वडामा रहेको सिद्धनाथ माध्यामिक विद्यालयमा समायोजन गर्ने निर्णय गरेको छ ।

धनगढी उपमहानगरपालिकाले नयाँ शैक्षिक सत्र शुरु भएको चार महिनापछि विद्यालय समायोजन गर्ने निर्णय गरेपछि अभिभावक, शिक्षक र विद्यार्थीहरु असन्तुष्ट छन् । नयाँ शैक्षिक सत्रको बिचमा विद्यालय समायोजन गर्दा सबैभन्दा बढी मारमा विद्यार्थी र अभिभावकहरु पर्ने स्थानीय राजेन्द्र शाहले बताउँछन् । बेहडाबाबा आधारभुत विद्यालयमा एक जना शिक्षकको दरबन्दी रहेको छ ।

उपमहानगरपालिकाले सो विद्यालयमा बालविकास कक्षामात्र सञ्चालन गर्ने निर्णय गरेको छ । ‘त्यो विद्यालयमा अध्ययन गर्ने बालबालिकाले समायोजन भएको विद्यालयमा जान समस्या भोगिरहेका छन’ उनले भने –‘हामी कक्षासम्म त चलाउ भन्दैन । तर, कक्षा ३ सम्म यही विद्यालयमा अनिवार्य अध्यापन हुनुपर्छ । साना बालबालिकालाई हिड्न समस्या हुन्छ । खोला तरेर जानुपर्ने, जंगलको बाटो हिड्नुपर्ने लगायतका समस्या छन् ।’

धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बंगराकटानमा रहेको सरस्वति आधारभुत विद्यालयमा कक्षा ८ सम्म अध्यापन भइरहेको छ । उपमहानगरपालिकाले कक्षा ६ देखि ८ सम्मको अध्यापन नहुने गरि समायोजन गरेको छ । सो विद्यालयको कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुले अध्यापनका लागि वडा नम्बर ८ धनगढी गाउँस्थित धनगढी नमुना प्राविधिक माध्यामिक विद्यालयमा जानुपर्ने छ । सरस्वति आधारभुत विद्यालयमा वालविकासदेखि कक्षासम्ममात्र अध्यापन हुने धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको जोकैया आधारभुत विद्यालयमा कक्षा ३ सम्म पढाई हुँदै आएको छ । २५ जना विद्यार्थी र एक शिक्षक दरबन्दी रहेको सो विद्यालयमा अब बालविकास कक्षामात्र सञ्चालन गरिने छ । सो विद्यालयमा भर्ना भएका विद्यार्थीहरुले अध्यापन गर्न सोही वडामा रहेको बेला आधारभुत विद्यालयमा जानुपर्ने बाँध्यता रहेको छ भने धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीमा कक्षा ३ सम्म अध्यापन गर्दै आएको नेपाल भुपु सैनिक आधारभुत विद्यालयका विद्यार्थीहरुले खप्तडी आधारभुत विद्यालयमा अध्यापन गर्न जानुपर्ने छ । फूलबारीमा रहेको विद्यालयमा एक शिक्षकको दरबन्दी छ भने २३ विद्यार्थी अध्यापन गर्दै आएका छन् ।

उपमहानगरपालिकाले फूलबारीमै रहेको विद्यालयलाई ‘एफ’ गाउँमा लगेर समायोजन गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलवारीमा रहेको नेपाल भुपु सैनिक आधारभुत विद्यालयलाई एफ गाउँमा रहेको खप्तड आधारभुत विद्यालयमा समायोजन गरेको हो ।
धनगढी उपमहानगरपालिकाले सरोकारवालाहरुसंग सुझाव, छलफल नगरि अवैज्ञानिक ढंगले विद्यालय समायोजन गरेको भन्दै स्थानीयहरु रुष्ट छन् । 

समायोजनका नाममा स–साना बालकलाई टाढा विद्यालयमा जानुपर्ने अवस्था आएपछि स्थानियहरु विद्यालय समायोजनका विषयमा पुनरावलोकन गरिनुपर्ने भन्दै धनगढी उपमहानगरपालिका धाइरहेका छन् । 
धनगढी १४ को शिक्षा समितिले उपमहानगरपालिकाले गरेको विद्यालय समायोजन सम्बन्धि निर्णयको विरोध गरेको छ । बुधवार बसेको वडा शिक्षा समितिको बैठकले उपमहानगरपालिकाले अबैज्ञानिक ढंगले विद्यालय समायोजन गरेको भन्दै विरोध गरिरहेको छ ।

वडाका सम्पूर्ण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिबीको सहभागिता रहेको बैठकले पुनरावलोकनका लागि नगर प्रमुख गोपाल हमाललाई अनुरोध गरेका थिए ।
साउन १५ गते बसेको धनगढी नगरकार्यपालिका बैठकले केही विद्यालय गाभ्ने र केहीका कक्षाहरू नजिकका विद्यालयमा समायोजन गर्ने निर्णय गरेको थियो । 

सोही निर्णय अनुुसार धनगढी १४ एच गाउँ स्थित सिद्धार्थ आधारभुत विद्यालयलाई सर्बोदय माध्यामिक विद्यालय सी गाउँमा गाँभिएको थियो । सम्बन्धित विद्यालय र वडा संग छलफल नगरी उपमहानगरले गरेको निर्णयका कारण अभिभावक र विद्यार्थीहरुलाई समस्या भएको भन्दै निर्णयमाथी पुर्नविचार गर्न उपमहानगरपालिकालाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
अहिले स्थानीयहरुले नगर प्रमुख गोपाल हमाल तथा जनप्रतिनिधिहरुलाई गुनासो राख्दा जनप्रतिनिधिहरुनै एक अर्कालाई दोष देखाएर पन्छिइरहेका छन् । नगर प्रमुख गोपाल हमालले वडा अध्यक्षहरु विद्यालय सञ्चालनको जिम्मेवारी लिएमा सञ्चालन गर्न सकिने प्रतिक्रिया दिन्छन भने वडा अध्यक्षहरु धनगढी उपमहानगरपालिकालाई देखाएर पन्छिइरहेका छन् । अभिभावक, विद्यार्थी र शिक्षकलाई समस्या दिने गरि शैक्षिक सत्रको विचमा विद्यालय समायोजन उचित नभएको नेपाल शिक्षक संघ नगर अध्यक्ष भुपाल खडका बताउँछन् । ‘विद्यालय समायोजनको विरोध होइन् । अहिले विद्यार्थीहरुको परिक्षा आउँदै छ । शैक्षिक सत्रको बिचमा कसैसंग छलफल नगरि मनोमानी ढंगले विद्यालय समायोजन भएको छ’ उनले भने –‘के अभिभावकहरु आफना छोराछोरीलाई कुन विद्यालयमा पढाउने भन्नेबारे पनि अधिकार छैन । समायोजन भएका विद्यालयका बालबालिकाले त्यही पढ्नुपर्ने बाँध्यता किन बनाइयो । उनीहरु आफनो पायक पर्ने विद्यालयमा पनि आफुलाई भर्ना गर्न सक्छन् । के त्यो अधिकार अभिभावकको होइन् ।’

उनले विद्यार्थीहरु नयाँ विद्यालय जाँदा अभिभावकले नयाँ विद्यालय पोसाक, कापी, कितावमा पनि किन्नुपर्ने अवस्था रहेको बताए ।
शिक्षा महाशाखा प्रमुख नरेन्द्र खातीले भने विद्यालयमा दरबन्दी न्यून हुनु र शिक्षक बढी हुँदा उपमहानगरपालिकाको आर्थिक भार बढ्दै गएकोले विद्यालय समायोजन नीति लिइएको बताए । उनले भने –‘यो वर्ष विद्यार्थीहरुलाई समस्या होला । पहिला १० देखि ३० मिनेटमा विद्यालय पुग्थे । समायोजन पछि नयाँ विद्यालय पुग्न उनीहरुलाई ४५ देखि एक घण्टा लाग्ला । तर, विद्यालय सुधार गर्ने काम अन्र्तगत पहिलो प्रयास भएकाले अर्को वर्ष पुनः पुरावलोकन हुन्छ । अहिले बालविकास बनेका विद्यालयमा दरबन्दी समायोजन मिलान भइसकेपछि पुनः सञ्चालन आउन पनि सक्छन् ।’ उनले विद्यार्थीहरुलाई विद्यालयमा हिड्ने लामो दुरीबाहेक अन्य कुनै समस्या नहुने बताए ।

उही ऐनको दोहोरोपना
धनगढी उपमहानगरपालिकाले विद्यालय समायोजन गर्दा केही आधार र मापदण्ड बनाएको छ । असार ५ गते कार्यपालिका बैठकबाट पारित विद्यालय समायोजन नियमावली २०८० अनुसार दुई वा दुई भन्दा बढी विद्यालयको परिसर एक आपसमा जोडिएको, विद्यालयबिचको दुई ३० मिनेटभन्दा कम रहेको, भौगोलिक दूरी दुई किलोमिटर वा दुई किलोमिटर भन्दा कम भएका र आपसमा गाभिएर उच्च तहका विद्यालयको हैसियत प्राप्त गर्न चाहने वा दुई वा सो भन्दा बढी विद्यालयहरु, भौगोलिक रुपले विकटता नभएका स्थानमा स्थापना भएका विद्यालयहरु लगायत गरि सात आधारहरु तय गरेको छ ।

उपमहानगरपालिकाले बनाएको नियमावलीमा विद्यालयमा विगत ३ शैक्षिक सत्रको विद्यार्थी संख्याको औषत भन्दा न्यून रहेको र भविष्यमा पनि विद्यार्थी संख्या पुग्ने प्राप्त आधार नभएका विद्यालयलाई समायोजन गर्ने उल्लेख छ । जसअनुसार आधारभूत (बालविकास कक्ष) मा औषतमा १५ जना, आधारभुत तह (कक्षा १ देखि ३) सम्म ६० जना, आधारभुत तह (कक्षा १ देखि ५) सम्म एक सय, आधारभुत (कक्षा ६ देखि ८) ७५ जना, माध्यामिक (कक्षा ९ र १०) ५० र माध्यामिक (कक्षा ११ र १२) मा औषतमा ५० विद्यार्थी हुनुपर्ने उल्लेख छ । सोही अनुसार विद्यालयहरु समायोजन गरिएको उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख तथा सूचना अधिकारी नरेन्द्र खाती बताउँछन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा छ भगवति आधारभुत विद्यालय । सो विद्यालयमा विद्यार्थी संख्या औसतमा ३६ छन् । तर, नजिक रहेको विद्यालयलाई समायोजन गर्नु भन्दा टाढाको विद्यालयलाई समायोजन गरिएको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले जनता राष्ट्रिय मावि राजपुर र जनता राष्ट्रिय मावि कैलाली गाउँमा समायोजन गरेको छ । कैलाली गाउँको विद्यालयमा औषतमा ८७ विद्यार्थी छन भने राजपुरको जनता माविमा ६२ विद्यार्थी छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ ए गाउँमा रहेको नर्मदेश्वर आधारभुत विद्यालयमा पनि विद्यार्थी औसत भन्दा २६ विद्यार्थीमात्र छन् । तर, यसलाई पनि समायोजन प्रक्रियामा लगेको छैन् ।

उपमहानगरपालिका वडा नम्बर १९ खेदावस्तीमा रहेको बाल सृजना आधारभुत विद्यालयमा ९० विद्यार्थी छन भने बहुलियास्थित जनसहयोग आधारभुत विद्यालयमा ५५ विद्यार्थी छन्'' । उपमहानगरपालिकाले औषतभन्दा यी कम विद्यार्थी भएका विद्यालयलाई पनि समायोजन प्रक्रिया ल्याएको छैन् ।
शिक्षा महाशाखा प्रमुख खातीले भने विद्यालयमा दरबन्दी न्यून हुनु र शिक्षक बढी हुँदा उपमहानगरपालिकाको आर्थिक भार बढ्दै गएकोले विद्यालय समायोजन नीति लिइएको बताए । उनले भने –‘यो वर्ष विद्यार्थीहरुलाई समस्या होला । पहिला १० देखि ३० मिनेटमा विद्यालय पुग्थे । समायोजन पछि नयाँ विद्यालय पुग्न उनीहरुलाई ४५ देखि एक घण्टा लाग्ला । तर, विद्यालय सुधार गर्ने काम अन्र्तगत पहिलो प्रयास भएकाले अर्को वर्ष पुनः पुरावलोकन हुन्छ । अहिले बालविकास बनेका विद्यालयमा दरबन्दी समायोजन मिलान भइसकेपछि पुनः सञ्चालन आउन पनि सक्छन् ।’
पाँच वटा नमुना विद्यालय बनाइने
धनगढी उपमहानगरपालिकाले विद्यालयमा शिक्षक दरबन्दी मिलान गर्न सकेको छैन । तर, यस वर्ष पाँच वटा विद्यालयलाई नमुना बनाउने अवधारणा लिएको छ । उपमहानगरपालिका शिक्षा शाखा प्रमुख नरेन्द्र खातीले अहिलेसम्म धनगढीमा एक मात्र नमुना विद्यालय रहेको बताए । संघिय सरकारले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँस्थित धनगढी नमुना प्राविधिक विद्यालयलाई नमुना विद्यालय बनाएको थियो । 

उपमहानगरपालिकाले हरेक वडामा एक नमुना विद्यालय बनाउने अवधारणाअनुसार यस वर्ष पाँच वटा नमुना विद्यालय बनाउने तयारी गरेको छ । त्यसका लागि जग्गा धेरै हुनुपर्ने लगायतका मापदण्ड तयार गरिरहेको बताए । उनले भने –‘मापदण्ड तयार छ । अब कुन विद्यालयलाई बनाउने भन्नेबारे निर्णय हुन सकेको छैन । नमुना विद्यालयमा सम्पूर्ण विषय अंग्रेजीमा अध्यापन हुनुपर्छ । त्यसका लागि शिक्षकहरुलाई पनि अंग्रेजी विषयमा तालिम दिइने छ ।’