सरकार र निजी विद्यालयका सञ्चालकबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगित

सरकार र निजी विद्यालयका सञ्चालकबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं । संघीय शिक्षा ऐन २०८० का प्रावधानविरुद्ध आन्दोलनरत नीजि विद्यालयका सञ्चालक र सरकारबीच सहमति भएको छ। 

शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मन्त्रिपरिषद्‌बाट पारित गरेसँगै यसमा असन्तुष्टि जनाउँदै विद्यालय बन्द गर्दै आन्दोलनमा उत्रिने धम्की दिएका निजी विद्यालयका सञ्चालक र सरकारबीच सहमती भएको हो। 

शुक्रबार उप्रप्रधान तथा रक्षामन्त्री पुर्ण बहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईसँग आन्दोलनरत निजी विद्यालयका सञ्चालकहरुको वार्ता भएको थियो। सरकारी पक्ष र निजी विद्यालय सञ्चालकहरूबीच भएको वार्ताको क्रममा विधेयक सच्याउने कुरामा सरकार सहमत भएपछि आन्दोलन स्थगित गरिएको प्याब्सनका अध्यक्ष डिके ढुंगानाले जानकारी दिए। नेपाल लाइभसँग कुरा गर्दै ढुंगानाले भने,‘हामीले राखेका मागहरु पूरा गर्ने पक्षमा सरकार सहमत भयो। त्यसपछि हामीले आन्दोलन स्थगित गरेका हौँ।’

निजी विद्यालय सञ्चालकहरूको संगठन प्याब्सन, एन प्याब्सन र हिसान लगायतको शिक्षा विधेयकमा निजी विद्यालयमाथि सरकारले हस्तक्षेप गरेको आरोप लगाउँदै आइतबारदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए।