विदेशबाट फर्केपछि पशुपालनमा रमाइरहेका हिक्मत

विदेशबाट फर्केपछि पशुपालनमा रमाइरहेका हिक्मत

धनगढी । ‘नेपालमा रोजगारी छैन । एसएलसी तथा उच्च तहको अध्यापन सकेपछि अब त विदेश जाने तयारी गर्छु । यहाँ भविष्य पनि बन्दैन । वैदेशिक रोजगारीमा गएर टन्न पैसा कमाएर फर्कन्छु’ पछिल्लो समयका नयाँ युवा पुस्तालाई अब के गर्छौ भनेर सोध्दा पाइने उत्तर हो यो । युवाहरुको विदेश जाने चाहना र वैदेशिक रोजगारीमा जानेको संख्या पनि बढ्दो क्रममा देखिन्छ । तर, इच्छाशक्ति भए स्वदेशमा रोजगारी सृजना गर्न सकिन्छ भन्ने देखिदैन । त्यसकै उदाहरण हुन कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा पशुपालन गर्दै आएका ३७ वर्षिय हिक्मत कडायत । झण्डै आठ वर्ष वैदेशिक रोजागरीमा रहेका उनी अहिले स्वदेशमै रोजगारी सृजना गरिरहेका छन् ।

स्वास्थ्य क्षेत्रमा भविष्य देख्दै प्राविधिक तहअन्र्तगत ‘डिप्लोमा इन फार्मेसी’, आयुुर्वेदिकतर्फको हेल्थ असिष्टेन्ट र युुरोपको साइप्रसबाट बिएससी नर्सिङ अध्यापन गरे तर, उनी स्वास्थ्यतर्फको रोजगारीमा चासो नराखी वैदेशिक रोजगारीमा लागे । तर, वैदेशिक रोजगारीबाट फर्केपछि स्वदेशमै पशुपालन व्यवसायतर्फ आकर्षित भएका छन् । उनी अहिले भैँसी पालन गर्दै त्यसबाट आउने दुध विक्री गरेर आम्दानी गरिरहेका छन् ।

उनले कृष्णपुरमा एक बिगाह जमीन भाडामा लिएर पशुपालन गरिरहेका हुन । दुई वटा भैँसीबाट विस्तार गर्दै ११ ओटा भैँसी पुगाएर हेमा कृषी तथा पशुपन्छी फर्म सञ्चालन गरेका उनले दिनहुँ एक सय १५ लिटर दुध बिक्री गर्थे भने अहिले आर्थिक समस्या भएपछि तीन वटा भैँसी विक्री गरेपछि उनको फर्ममा आठमात्र दुध दिने भैँसी छन् । भैँसीकै दुध बेचेर महिनाको तीन लाखसम्म आम्दानी हुने उनको भनाई छ । उनले भने, ‘भैँसीकै दुध बेचेर महिनाको तीन लाख आम्दानी हुन्छ । खर्च कटाएर काम गर्नेलाई दिएर पनि एक लाख महिनाको बचत रहेको छ ।’ उनका अनुसार अहिले एक लिटरको ८५ रुपैँया तोकेको र दैनिक बिहान र साँझ गरी ८५ लिटरसम्म दुध बेच्ने गरेका छन् । उनले वार्षिक जमिनको भाडा ६० हजार तिर्दै आएका छन् । लिजमा लिएको जग्गामा भैँसीका लागि आवश्यक पर्ने आहार ‘घाँस’ उत्पादन गर्दै आएका छन् ।

वैदेशिक रोजगारीमा रहदा उनले दुुबइमा १४ महिना सेफ्टी नर्सको काम गरेको र पछि कुुबेतमा ६ वर्ष काम गरेको स्मरण गर्छन् । दुई वर्ष अघि घर परिवार भेट्न फर्किएका उनलाई अहिले वैदेशिक रोजगारतर्फ आकर्षण छैन । उनी भन्छन् –‘नेपालमा गएर फार्मेसी खोल्छुु होला भन्ने सोच बनाएको थिए । तर, यहाँ आएपछि मनस्थिती बदलियो र एकाएक पशुुपन्छी पाल्ने सोच बनाए । सुरुको समयमा कुुखुरा पालन गरे । त्यसमा घाटा भयो । अहिले भैँसी पालन गरिरहेको छु । यसबाट आम्दानी पनि सन्तोषजनक रहेको छ ।’ उनले हालसम्म भैँसीपालनमा करिब २३ लाख रुपैँया लगानी भइसकेको बताउँछन् ।

No description available.

व्यवसायीक पशुपालन गर्दा एकलै सकिदैन । उनलाई उनकी श्रीमती हेमाले पनि साथ दिइरहेकी छिन । साथै फर्ममा दुुइ जनालाई रोजगारी दिएका छन् । उनी भन्छन् –‘एक जनाले घाँस काट्छ, दुुध दुुहुुन्छ र अर्काेले दुुध बजारसम्म प¥याउने काम गर्छन् । यसमा म पनि बिहान ४ बजेदेखिनै खटिने गर्छु ।’ उनले गोठ सरसफाईदेखि लिएर दुध दुहुनेसम्मको काम आफूले पनि गरिरहेको बताए ।

कडायतलाई साथीहरुले विदेश जाँउ नभनेका होईनन्, स्वास्थ्य सम्बन्धीको पढाई गरेका उनलाई काम गर्ने कम्पनीले पटक–पटक बोलाइरहन्छन तर, उनी अहिले वैदेशिक रोजगारीमा जाने पक्षमा छैनन् ।
उनले अहिले आफुुले उत्पादन गरिरहेको दुध अत्तरिया बजारसम्म पुर्याईरहेका छन् । ‘बजारको कुनै समस्या भोग्नुपरिरहेको छैन’ उनले भने ‘अझै दुधको बजार विस्तार गर्ने योजनासहित काम गरिरहेको छु । करिव १० ओटा भैँसी अझै पालेर यहाँ उत्पादन भएको दुुध धनगढी बजार लगायत अन्य बजार सम्म पुु¥याउने सोच बनाएको छु ।’
तर, लगानी गर्न उनी आर्थिक अभाव झेलिरहेका छन् । उनले भने ‘फर्ममा थप लगानीको आवश्यकता छ । तर, त्यसका लागि रकम छैन ।’ 

उनले दुधमा गुणस्तर कायम गर्न सक्नुपर्ने बताए । उनले भने ‘हामीले दुध गुणस्तरीय भएको उपभोक्तालाई ग्यारेन्टी दिन्छौ जसका कारण हाम्रो दुधको माग बढी छ । फाटेमा, दहि नजमेमा पैसा नै लिँदैनौ । ग्राहकलाई ध्यानमा राखेर पनि काम गरिरहेका छौं ।’

उनले प्रदेश सरकारबाट घाँस काट्ने मेसिन अनुदानमा पाएको बताउँदै ‘घाँसको बिउका लागि सम्बन्धित निकायमा पटक–पटक आग्रह गर्दा पनी पाउन सकेको छैन् । केहि सिप नलागेपछि नेपालगंजबाट महँगोमा घाँसको बिउ ल्याएर भैँसीलाई आहार व्यवस्थापन गरिरहेका छौं ।’

No description available.

विदेशमा गरिने श्रम यहाँ गर्न आम्दानी गर्न समस्या नरहेको उनको भनाई छ । ‘व्यवसाय गरौं लगानी अभाव, रोजगारी गरौं स्वदेशमा उद्योग छैन् । तर, कृषि क्षेत्रमा युवाहरु लागेमा रोजगारीको अभाव हुँदैन्’ उनले अनुभव व्यक्त गरे । 
उनले वैदेशिक रोजगारीमा यहाँ भन्दा बढी कमाएपनि घण्टौँ ड्युटी र परिवारबाट टाढा बस्नुपर्ने बाँध्यता थिए । अहिले घर परिवारसंग बसेर यहि उद्यम गर्दा देशका लागि पनि केही गरेको अनुुभव भइरहेको उनी बताउँछन् उनले भने, ‘अर्काको देशमा तड्पिएर मरी मरी काम गर्छौ तर, पनि सुख छैन तर, आफ्नै देशमा सामान्य काम गरेपनि गर्भ लागिरहेको छ ।’ 
उनको दुुखेसोः वास्तविक किसानलाई किन पाइदैन अनुदान

विदेशबाट फर्किएर यतै भविष्य खोजीरहेका कडायतलाई अहिले सरकारले दिने अनुदानप्रति चित्त दुखाई छ । उनले यो व्यवसायमा आफ्नो भविष्य जोखिरहेको भएपनि तर, कतैबाट सहयोग भने नपाएको गुनासो व्यक्त गरे ।

‘फर्मका कागजात बोकेर मन्त्रालय लगायत सम्बन्धित निकायमा पुग्छु । तर, रित्तै फर्किनुपर्ने बाँध्यता छ । भैँसीलाई चाहिने आहार हो । त्यसका लागि सरकारले घाँसका बिउँ निशूल्क उपलब्ध गराए पशुपालकलाई राहात हुन्छ ।’

No description available.

आफूलाई अनुदानमा पैसा नभएर भैँसी दिन उनी सम्बन्धित निकायमा आग्रह गरिरहन्छन् । ‘भैँसीपालनबाट लाभ भएपछि हामी सरकारलाई फिर्ता गर्न तयार छौं तर, त्यो पनि सरकारले सुन्दैन् । कृषिमा युवाहरुलाई आकर्षण गर्न सरकारले सहि ठाउँमा अनुदान र कृषकका समस्याको समाधानतर्फ ध्यान दिनुपर्छ’ उनी भन्छन् ।

उनले सरकारबाट अनुदान पाए आगामी दिनमा कैलालीको गेटामा अर्को भैँसी फर्म सञ्चालन गर्ने आफनो योजना रहेको बताए ।