जहाज चार्टर्ड गरेर आएका बङ्गलादेशी पर्यटकलाई विमानस्थलमा पञ्जेबाजा बजाएर स्वागत

जहाज चार्टर्ड गरेर आएका बङ्गलादेशी पर्यटकलाई विमानस्थलमा पञ्जेबाजा बजाएर स्वागत

काठमाण्डौ । जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

विमान बङ्गलादेश एअरलाइन्सबाट आज शुक्रवार दिउँसो काठमाण्डौ ओर्लिएका एक सय ४५ जना पर्यटकलाई नेपाल पर्यटन बोर्डको नेतृत्वमा स्वागत गरिएको हो । पञ्चेबाजासहित पर्यटन व्यवसायीले बङ्गलादेशी पर्यटकलाई स्वागत गरेका हुन् ।

आजै बेलुकी हिमालय एअरलाइन्सबाट थप बङ्गलादेशी पर्यटक नेपाल आउने कार्यक्रम छ । आज र भोलि गरेर सात सय पर्यटक नेपाल आउने बङ्गलादेशी पर्यटकको ग्राउन्ड ह्यान्डलिङ को जिम्मा लिएको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिएन पाण्डेका अनुसार बङ्गलादेश बाट उडान मार्फत नेपाल आउन लागेको यो टोली अहिलेसम्मकै ठूलो हो । बङ्गलादेशको राजधानी ढाकामा रहेको माउन्टेन क्लब टुरमार्फत बङ्गलादेशी पर्यटक नेपाल आएका हुन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले ठूलो सङ्ख्यामा नेपाल भित्रिने बङ्गलादेशी पर्यटकको प्रचारप्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने उल्लेख गरे ।