फिलिपिन्सको एक कपडा कारखानामा आगलागी,  १५ जनाको मृत्यु

फिलिपिन्सको एक कपडा कारखानामा आगलागी,  १५ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्सको कपडा कारखानाका लागि प्रयोग गरिएको एक घरमा बिहीबार आगलागी हुँदा तीन वर्षीय बालकसहित १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय अग्नि नियन्त्रक वरिष्ठ सुपरिटेन्डेन्ट अरस्तु बानागाले एक पत्रकार सम्मेलनमा मनिलास्थित दुई तले भवनमा स्थानीय समयअनुसार बिहान पाँच बजे आगलागी भएको जानकारी दिए ।

नगरप्रमुख जोय बेलमोन्टेका अनुसार आगलागीको समयमा १८ जना घरभित्र थिए । उक्त आगलागीमा परेका तीन जनाले भागेर ज्यान बचाएका तर बाँकीको मृत्यु भएको उनको भनाइ छ । मृत्यु हुनेमा घर र कारखानाका मालिक परेका बताइएको छ । 

सामाजिक सञ्जालमा सार्वजनिक गरेको आगोको भिडियो फुटेजमा एउटा आवासीय क्षेत्रमा रहेको काठ र कङ्क्रिटले बनेको भवनमा आगोको ज्वाला लागेको देखिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको बानागाले बताए। 

उक्त भवनमा जुत्ता र ब्यागको व्यापारका लागि व्यवसायिक स्वीकृति दिइएको थियो तर उक्त स्थानलाई टिसर्ट बनाउन र प्रिन्ट गर्न प्रयोग गरिएको अधिकारीहरूले बताएका छन् । यसमा तीन जना मात्र घोषित कर्मचारी थिए ।